बुटवल उपमहानगरले ४ हजार जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, कुन वडामा कहिले ?

 

काठमाडौँ । रुपन्देहीको बुटबल उपमहानगरपालिकाले पालिकाभित्रका करिब ४ हजार जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

उपमहानगरपालिकाले बैशाख १७ गतेदेखि २४ गतेसम्म सबै वडामा स्वास्थ्य शिविर नै राखेर स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

उपमहानगरले दिएको जानकारी अनुसार बैशाख १७ गते १६,१७,१८ र १९ वडामा शिविर संचालन हुनेछ । यस्तै, बैशाख बैशाख २१ गते १२,१३,१४ र १५ नम्बर वडामा, बैशाख २२ गते ८,९,१० र ११ वडामा, बैशाख २३ गते ४,५,६ र ७ नम्बर वडामा तथा बैशाख २४ गते १,२,३ नम्बर वडामा शिविर राखेर स्वास्थ्य परीक्षण गर्न लागिएको उपमहानगरपालिकाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए । 

स्वास्थ्य शिविर वडा कार्यालयहरुका स्वास्थ्य केन्द्रमा संचालन हुने छन् । शिविर विहान साढे १० बजे सुरु भएर बेलुकी साढे ३ बजेसम्म संचालन हुनेछ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बजेट नै व्यवस्थापन गरेर यो कार्यक्रम संचालन गरेको हो । उपमहानगरले चालु आर्थिक वर्षको लागि ‘बा आमासँग नगर प्रमुख स्वास्थ्य परीक्षण तथा उपचार शिविर’ कार्यक्रम स्वीकृत गरेको थियो ।

सो कार्यक्रममा जेष्ठ नागरिकको उपस्थितिको लागि उपमहानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र पनि गरेको छ । परिपत्रमा कार्यक्रमको व्यापक प्रचार प्रसार गर्न तथा जेष्ठ नागरिकको उल्लेख उपस्थितिको प्रबन्ध मिलाउन भनिएको छ । बुटबल उपमहानगरमा १९ वटा वडा छन् । प्रत्येक वडाबाट कम्तिमा २०० जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य उपमहानगरको छ । यसो हुँदा करिब ४ हजार जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण हुनेछ । यद्यपि, उपचारका लागि २०० भन्दा बढी जेष्ठ नागरिक आएपनि उपचार हुने उपमहानगरको भनाइ छ । वडाहरूमा २०० भन्दा बढी जेष्ठ नागरिकहरू उपचारको लागि आउने भएमा उपमहानगरलाई जानकारी गराई अभिलेख राख्ने व्यवस्था मिलाउन भनिएको उपनिर्देशक पाण्डेले जानकारी दिए ।

शिविरमा स्वास्थ्य परीक्षणको लागि ल्याव पनि संचालन गरिनेछ । सो ल्यावमा मधुमेय, पिसाव, रगतको परीक्षण गरी रोगहरुको पहिचान गरिनेछ । नगरपालिकाले ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update