बुटवल उपमहानगरपालिकाले बाढीपीडितलाई तत्काल राहतका लागि ५१ लाख उपलब्ध गराउने

काठमाडाैँ। रूपन्देहीको बुटवल उपमहानगरपालिकाले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

विपद् व्यवस्थापन समितिको बैठकको सिफारिसका आधारमा प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको उपमहानगरपलिकाका मेयर खेलराज पाण्डेयले जानकारी दिए ।

उपमहानगरपालिकाले बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ। बाढीका कारण उत्पन्न विपद्को अवस्थामा उद्धार, राहत, पुनःस्थापना तथा आवश्यक सहयोगमा जुट्न नगरवासीलाई समेत आग्रह गरिएको छ।

बुटवल उपमहानगरपालिकाले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै निजी क्षेत्र, संघसंस्था, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा आम नागरिकलाई समेत सहयोग र सहकार्यका लागि अपिल गरेको छ।

नगर प्रमुख खेलराज पाण्डेयले विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विपद्को घडीमा बुटवलको ५१ लाख सहयोगले प्रभावित नागरिकको उद्धार र राहत अभियानमा थप बल पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update