काठमाडौँ । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् ।
घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् ।
दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरुको विवरण संकलन गरिरहेको छ ।
विवरण सङ्कलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरुलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी भइरहेको जनाइएको छ । उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनका अनुसार दशरथ रङ्गशालामा आइपुगेका सुकुम्बासीको विवरण सङ्कलन गरी उनीहरुलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको छ ।





