काठमाडौँ । सरकारले बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट हटाएका सुकुम्बासीलाई कामठाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार, र मनोसामाजिक परामर्श जस्ता सेवा उपलब्ध गराइएको सरकारको भनाइ छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले दिएको जानकारी अनुसार शुक्रराज ट्रपिकल अस्पतालको नेतृत्वदायी भूमिकामा कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह र पाटन मानसिक अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीहरू खटिएका छन्।
शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको छ।
सचिवालयले दिएको जानकारी अनुसार अहिलेसम्म ६८ जनाले सेवा लिइसकेका छन्। बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको छ।
यस्तै, काठमाडौँको कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको छ । सो शिविरमा आँखा र दाँतको उपचारमा आकर्षण देखिएको छ।
काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको छ।





