संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले साँझ ५ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । 

हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीशलगायत संवैधानिक पदहरू रिक्त छन् । संवैधानिक परिषद् बैठक नबस्दा प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको हो । 

संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । 

बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको सचिवालयले जनाएको छ ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद् अध्यक्षका हैसियतमा प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।

नयाँ अध्यादेश जसअनुसार संवैधानिक परिषद्को बैठकको गणपूरक संख्या चार कायम गरिएको छ । गणपुरक संख्याको बहुमतबाट निर्णय गर्ने प्रावधान समेटिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  ०६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update