टीकापुर । कैलालीको टीकापुर नगरपालिका–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ कम भएकाले उचाइ बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।
उचाइ होचो भएकाले नदीमा पानीको बहाव बढेका बेला जोखिम कम नहुने स्थानीयको गुनासो छ । नदी किनारको उचाइ १२ मिटर भए पनि नौ मिटर कङ्क्रिटसहित तटबन्ध र त्यसको माथि एक मिटर ग्राभेल गरेर १० मिटर मात्र बन्न थालेको भन्दै स्थानीयले किनारको उचाइ बराबर बनाउन माग गरेका छन् ।
विसं २०७० मा चिसापानीमा पानीको बहाव १६ मिटर पुग्दा यहाँ १२ मिटर माथिबाट पनि पानी अतिप्रवाह (ओभरफ्लो) भएर गाउँमा क्षति भएकाले तटबन्ध निर्माणमा समयमै ध्यान दिनुपर्ने कर्मीडाँडाका सिंहराज बुढामगरले बताए ।
‘तटबन्ध दीर्घकालीन सोचका साथ बनाउनुपर्छ, यसअघि नै जोखिम मोलिसकेका नागरिक सुरक्षित राख्न तटबन्धको उचाइ पर्याप्त भएन । दुई मिटर होचो बन्दैछ, यसको उचाइ कम भयो । उचाइ बढाउन सबै क्षेत्रबाट पहल गरिदिन आग्रह गर्दछु । बर्खामा नदीमा पानीको बहाव बढेमा जोखिम हुन्छ,’ उनले भने ।
तटबन्धको उचाइ कम भएकै कारण बर्सातमा कर्णाली नदीको पानी गाउँमा पसेमा टीकापुर–५ मात्र नभई तल्लो क्षेत्रका वडा ६, ७, ८ र ९ लाई पनि असर गर्ने देखिन्छ । यहाँ हरेक वर्ष आउने बाढीले कर्णाली नदीको पानी बस्तीमा पस्ने जोखिम रहेको छ । हरेक वर्ष तटीय क्षेत्रका दर्जनौँ परिवार बर्खामा घर छोड्नुपर्ने वाध्यता रहेको दक्षिण साहीपुरका बरघर धर्मराज जैशीको भनाइ छ ।
‘अहिले बनिरहेको तटबन्ध उचाइ कम भएकाले जोखिम घट्ने देखिँदैन । स्थानीयको डर घटेको छैन,’ जैशीले भने ।
यहाँ रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माण कम्पनीले ठेक्का लिएर तटबन्ध गरिरहेको छ । आयोजनाले दिएको लागत अनुमानअनुसार काम गरिरहेको निर्माण कम्पनीले बताएको छ ।
‘काम गर्ने क्रममा केही ठाउँहरु भत्काएर काम भइरहेको छ । भत्काएका ठाउँमा निर्माण चलिरहेको छ । सम्झौताअनुसार काम भइरहेको छ,’ निर्माण कम्पनीका साइड इञ्चार्ज ओभरसियर माधवप्रसाद लेखकले भने ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाका सुपरभाइजर रामकृष्ण चौधरी अहिलेको काम लागत अनुमानअनुसार नै भइरहेको बताए ।
‘यस्तो लागत अनुमान किन बन्यो भन्नेबारे आफूलाई जानकारी छैन, मैले मेरो जिम्मेवारी निगरानी गर्ने काम गरिरहेको छु,’ उनले भने ।
कर्णाली नदीमा निर्माण कम्पनीले दुई हजार ३६३ घनमिटरको ठेक्का लिएर तटबन्ध निर्माण गरिरहेको छ । रासस





