टीकापुर नगरपालिकाले ल्यायो १ अर्ब ३ करोडको बजेट, यस्ता छन् प्राथमिकता

 

भक्तपुर । कैलालीको टीकापुर नगरपालिका आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गरी स्वीकृत गरेको छ ।

नगरपालिकाले १ अर्ब ३ करोड ६७ लाख ७७ हजार १ सय रुपैयाँको बजेट ल्याएको नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सुमन धितालले जानकारी दिए ।

नगरपालिकाको १९ औ नगरसभा अधिवेशन असार १७ बसेको हो । सभा नगरसभाका जेष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा बसेको हो ।

‘बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । ‘समृद्ध नगरः खुसी नगरवासी’को दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राख्दै नगरको समग्र विकास, सुशासन र नागरिक सेवाको प्रभावकारी विस्तारलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट र आर्थिक ऐन पारित गर्दै सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको बजेटले गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षामा सुधार, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा समावेशी विकासलाई मुख्य प्राथमिकतामा राखेको छ,’ प्रमुख प्रशासकीय अधिकृत धितालले भने ।

बजेट मार्फत वडा तथा नगरस्तरीय गौरवका आयोजना, शिक्षा– स्वास्थ्य क्षेत्रको सुदृढीकरण, फोहोरमैला व्यवस्थापन, सुशासन प्रवर्द्धन, युवा लक्षित कार्यक्रम तथा नगरको पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको नगरपालिकाको भनाई छ ।

नगरको विकास सरकारको मात्र नभई सम्पूर्ण नगरवासीको साझा जिम्मेवारी हो भन्दै नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालन गरिने विकास आयोजना, सेवा प्रवाह, राजस्व व्यवस्थापन तथा सामाजिक विकासका अभियानमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण नागरिक, जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र, संघसंस्था, सञ्चारकर्मी तथा विकास साझेदारहरूमा हार्दिक अपिल पनि गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update