कमलामाई नगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने, शुक्रबार हाफछुट्टी

 

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिकाले आइतबार पनि विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।

बैशाख २६ गते बसेको नगर कार्यपालिका बैठकले आइतबार पनि विद्यालय संचालान गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए ।

यस्तै, नगर कार्यपालिकाले शुक्रबार आधा दिन मात्रै विद्यालय संचालन गर्ने (हाफछुट्टी) निर्णय गरेको छ । कार्यपालिकाले गरेको निर्णय नगरपालिकाभरिका सबै विद्यालयहरुमा परिपत्र गरिएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए ।

यसअघि आइतबार पनि विद्यालय संचालन हुने गरेको थियो भने शुक्रबार आधा दिन मात्रै शैक्षिक कार्यक्रम संचालन गर्ने गरिएको थियो । पेट्रोलियम पदार्थका अभाव चर्किएपछि संघ सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो भने शुक्रबार ५ वजेसम्म नै कार्यालय समय तोकेको थियो । यस्तै, कार्यालय समय पनि विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको थियो ।

सरकारी कार्यालयहरुमा गरिएको यो व्यवस्था विद्यालयहरुमा पनि लागू गराउन संघ सरकारले प्रयास गरेको थियो । तर, आधारभूत र माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारको एकल अधिकारको सुचीभित्र परेको कारण धेरै स्थानीय सरकारहरुले शैक्षिक सत्र संचालन, विद्यालयका शैक्षिक कार्यक्रम संचालन गर्ने समय जस्ता विषयमा आफैले निर्णय गरिरहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १३:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update