दुधौली नगरपालिकाको उल्टो बाटो, कवाडी सामान बेच्न निकाल्यो सार्वजनिक सुचना

 

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा संकलित कवाडी तथा पुनःप्रयोग गर्न मिल्ने सामग्री बेच्ने भएको छ । 

नगरको सौदर्यमा बाधक बनिरहेका कवाडी सामग्री बिक्रीका लागि नगरपालिकाले सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि पहिलो पटक सूचना प्रकाशित गर्दै इच्छुक फर्म, संस्था तथा कम्पनीलाई दरभाउ पेस गर्न भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

नगरपालिकाका अनुसार वडा नं. ३ स्थित दुधौली खरे र वडा नं. ५ स्थित चितुवाखाडीमा रहेको ल्याण्डफिल्ड (फोहोर संकलन केन्द्र) मा जम्मा भएका कागज, प्लास्टिक, धातुजन्य तथा कवाडीजस्ता वस्तुको प्रशोधन, पुनःप्रयोग र बिक्री वितरणका लागि ठेक्का दिन लागिएको हो।

यसका लागि नगरपालिकाले न्यूनतम ठेक्का अंक ३ लाख ८० हजार रुपैयाँ तोकेको छ। दरभाउपत्र पेस गर्ने फर्म वा कम्पनीले कबोल रकमको ५ प्रतिशत रकम धरौटीका रूपमा बुझाउनुपर्नेछ। दरभाउपत्र फारामको दस्तुर भने १ हजार रुपैयाँ तोकिएको छ।

दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम मिति २०८३ भदौ ३ गते कार्यालय समयसम्म तोकिएको छ। त्यस्तै, दरभाउपत्र पेस गर्ने अन्तिम मिति २०८३ भदौ ४ गते दिउँसो १२ बजेसम्म रहेको छ। सोही दिन दिउँसो २ बजे दुधौली नगरपालिकाको कार्यालयमा दरभाउपत्र खोलिने नगरपालिकाले जनाएको छ।

दरभाउपत्रमा सहभागी हुन इच्छुक फर्म तथा कम्पनीले दर्ता प्रमाणपत्र, अद्यावधिक कर चुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र तथा धरौटी रकम जम्मा गरेको रसिद वा बैंक ग्यारेन्टी पेस गर्नुपर्नेछ।

नगरपालिकाले न्यूनतम वार्षिक कबोल अंकभन्दा कम रकममा पेस भएका दरभाउपत्रमाथि कुनै कारबाही नहुने तथा रीत नपुगेका वा म्याद नाघी प्राप्त भएका दरभाउपत्र स्वतः रद्द हुने जनाएको छ। दरभाउपत्र स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नगरपालिकामा सुरक्षित रहने सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update