काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदा हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन् ।
महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको पाक्षिक समीक्षा कार्यक्रममा बोल्दै उनउले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकी हुन् ।
उनले वडामा भएको बजेटबाट काम गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्थाका कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरुलाई निर्देशन पनि दिइन् ।
सम्पन्न योजनाको लाभ लागत विश्लेषण, कार्यान्वयनमा रहेका योजनाको गुणस्तर र कार्यान्वयन गर्न समस्यामा रहेका योजनाको समाधानका विषयमा कुरा गर्दै उनले तोकिएका विभागीय प्रमुखहरुसँग समन्वय गरेर नतिजा निकाल्न आग्रह गरिन् ।
‘वेरुजु शून्य बनाउन लगन चाहिएको छ । राजस्व संकलन कार्यलाई प्रभावकारी बनाउनु पर्नेछ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने, भएका सम्पत्तिको अभिलेखन गर्ने कामलाई प्रभावकारी बनाउनु पर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनु पर्नेछ । सामाजिक क्षेत्रका कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गर्दा सँधै र सबै तालिममा एउटै अनुहार राख्ने प्रणाली अन्त्य गर्नु पर्नेछ । रातको समयमा सडक वत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ । भू प्रशासनलाई चुस्त बनाउनु पर्नेछ । सेवाग्राहीलाई अनलाइन सेवामा अभ्यस्त गराउनु पर्नेछ । भौतिक उपस्थितिमा दिनु पर्ने सेवालाई चुस्त बनाउनु पर्नेछ,’ उनले जिम्मेवारी सम्झाउँदै भनिन् ।
वडा प्रशासनबाट गरेका अपेक्षामा कुरा गर्दै कार्यवाहक मेयर डंगोलले वडाको सेवामा महानगरपालिकाको मुहार देखिने भएकोले यसतर्फ संवेदनशील रहन आग्रह गरिन् ।
कार्यमा सबै वडाका सचिवहरुले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम कार्यान्वयनको अवस्था, वित्तीय र भौतिक प्रगति, सामाजिक तथा अन्य क्षेत्रका कार्यक्रम, वडावासीका माग र अपेक्षा, गर्न नसकिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
उपभोक्ता समितिहरुले समयमा कागजपत्र बुझाउन नसक्नु, इन्धनको मूल्य वृद्धि भएपछि निर्माण व्यवसायीहरुले योजना सम्पन्न गर्नमा ढिलाइ गर्नु, बजेट शीर्षकमा नभएका कार्यक्रमका लागि माग हुनु जस्ता विषय औँल्याउँदै वडा सचिवहरुले, सैद्धान्तिक वेरुजु फस्र्योट, राजस्वका दर, राजस्व गणना तथा दायरा, सीसीटिभी क्यामरा जडान, सुरक्षा र सहरी व्यवस्थापनक जस्ता साझा विषयमा साझा कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिए ।





