जेठको लागि ०.१ प्रतिशतले घट्यो बैंकको व्याज, सबैभन्दा बढी व्याज दिने बैंक कुन हो ?

 

काठमाडौं । लगानीको वातावरण नभएर निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरुले निक्षेपको व्याजदर थप घटाएका छन् । बैंकहरुले बैशाख महिनाको तुलनामा ०.१ प्रतिशतले निक्षेपको व्याज घटाएका हुन् ।

जेठ महिनाको लागि बैंकहरुले प्रकाशित गरेको व्यजदर बैशाख महिनाको भन्दा कम छ । बैशाख महिनाको लागि प्रकाशित गरेको औसत व्याजदर ४.१० प्रतिशत थियो भने जेठ महिनाको औसत व्याजदर ४.० प्रतिशत मात्रै छ ।

जेठको लागि प्रकाशित गरिएको व्याजदरमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन् । अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो । अहिले २० वटा वाणिज्य बैंक संचालनमा छन् ।

बैंकहरुले प्रकाशित गरेको व्याजदरलाई मूल्यबृद्धिसँग तुलना गर्दा बैंकमा निक्षेप राख्नेलाई उल्टै घाटा भएको देखिन्छ । किनभने अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ४ देखि साढे ४ प्रतिशतसम्म छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा मूल्यबृद्धिदर ४.४७ प्रतिशत रहेको छ । 

सिटिजन्स, हिमालयन, कुमारी, नेपाल, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले बैशाखको तुलनामा जेठको लागि व्याज घटाएका छन् । कृषि विकास, एभरेस्ट, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, एसबीआई, प्राइम कमर्सियल, प्रभु, राष्ट्रिय वाणिज्य, सानिमा र सिद्धार्थ बैंकले व्याजदर स्थीर राखेका छन् ।

व्याजदर घटेपनि जेठमा एनएमबी बैंकले सबैभन्दा बढी व्याज दिनेछ । सो बैंकले ४.८० प्रतिशत व्याज तोकेको छ । सो ब्याजदर पनि ५ वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्रै हो ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update