काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् ।
नबिल बैंक लिमिटेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको सहकार्यमा यही वैशाख २५ देखि २८ गतेसम्म शिविर आयोजना गरिएको थियो ।
शिविरमा २५ जनाको शल्यक्रिया गरिएको बैंकले जनाएको छ। त्यसमध्ये जटिल किसिमका १२ जना बिरामीलाई काठमाडौं सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।
नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत विभिन्न प्रदेशका दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ।
‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था छ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरेको हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने ।
सिइओ ज्ञवालीका अनुसार बैंकले चारवटा प्रदेशमा आयोजना गरेको जलन शिविरमार्फत श्रोतको अभावका कारण उपचारको पर्खाइमा बसेका दुरदराजका करिव पाँच सय जना बिरामीले निःशुल्क उपचार तथा परामर्श सेवा लिएका छन् ।
बैंकले यसअघि सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा यसप्रकारका शिविर आयोजना गरिसकेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनसम्बन्धी विशिष्ट प्रकारको सेवा उपलब्ध हुन नसकेको अवस्थामा शिविरले जलनका बिरामीलाई धेरै राहत पुर्याएको प्रतिष्ठानका निमित्त निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले बताए ।
‘यस प्रकारको सेवा उपलब्ध नभएको ठाउँमा २५ वटा शल्यक्रिया हुनु निकै कल्याणकारी काम हो । जलनको पीडा भोगेका बिरामीको पीडा कम गर्न खटिनुभएका कर्मचारी र आर्थिक रुपमा सहयोग गर्नु हुने नबिल बैंकलाई धन्यवाद दिन चाहन्छु,’ डा. रसाइलीले भने ।
आगामी दिनमा पनि यसप्रकारको सहकार्यको आशा गरेको उनले बताए ।
बैंकले यसअघि मधेश प्रदेशमा वैशाख १७ गतेदेखि आयोजना गरेको चार दिने शिविरबाट १५० जनाले उपाचार तथा परामर्श पाएका थिए । यस्तै गत फागुन १२ देखि १४ सम्म सुदूरपश्चिमको धनगढीमा सञ्चालन भएको शिविरमार्फत ६५ जना र चैत २७ गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श पाएका थिए ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो। नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ। नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।





