काठमाडौँ । तपाईंले विकसित देश पुगेर आउनेहरुले भनेको सुन्नुभएको होला– एयरपोर्टबाट गाडी चढेको, ठ्याक्कै मेरो आफन्तको अपार्टमेन्टमै पुर्याइदियो नि !
लोकेसन दिएपछि भाडाका गाडीले भने अपार्टमेन्टमै पुर्याए भन्ने कथा अब नेपालमा पनि नौलो हुन छोडेको छ ।
पछिल्लो समय सार्वजनिक यातायातमा भित्रिएका पठायो, याङ्गो, इन्ड्राइभ जस्ता सेवा प्रदायकले तोकेको लोकेसनमा पुर्याउन लागेका छन् ।
यस्ता सेवा प्रदायकले चोक थाहा पाउँछन्, रोड थाहा पाउँछन्, घर चिन्दैनन् । किनभने हाम्रो परम्परागत पद्धतिमा ठ्याक्कै घर चिन्ने प्रणाली आवद्ध छैन ।
तर, यो कुरा सूर्यविनायक नगरपालिका बाहेकको हकमा मात्रै हो । सूर्यविनायक नगरपालिकामा भने अब तपाईले जुनसुकै घर पनि ठ्याक्कै पत्ता लगाउन सक्ने अवस्था सिर्जना हुँदैछ ।
यसको कारण डिजिटल घर नम्बरिङ हो । सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षदेखि नै डिजिटल घर नम्बरिङ सुरु गरेको छ ।
नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर पुर्याउने अभियान सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य बताउँछन् ।
‘डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाउछ, सेवा प्रवाहलाई द्रुत बनाउँछ र आपत्कालीन सेवालाई लक्षित स्थानमा छिटो पुग्न सहयोग पुग्छ,’ प्रमुख प्रशासकीय अधिकृत आचार्यले वडापालिकासँग भने ।
नगरपालिकाले चालु आर्थिक वर्षभित्र वडा नम्बर १,२,५ र १० मा गरी चारवटा वडामा नम्बरप्लेट राख्ने कार्य पूरा हुने जानकारी दिए । बाँकी वडाहरुमा चालु आर्थिक वर्षभित्र सर्वेक्षणको कार्य सकेन आगामी आर्थिक वर्षभित्र डिजिटल नम्बरप्लेट राख्ने कार्य सम्पन्न हुने उनको भनाइ छ ।
यो कार्यको सुरुआत मेयरको घरमा नम्बर टाँसेर गरिएको थियो । चैतको तेस्रो साता सूर्यविनायक नगरपालिका–१० चित्तपोल पारीगाउँस्थित मेयर वासुदेव थापाको घरमा नम्बर टाँसेर सुरु भएको अभियान आधुनिक प्रविधिको प्रयोगमार्फत नगरका सबै घरमा पुर्याउने गरी सुरु गरिएको छ ।
नगरलाई व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए । यो प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने नगरपालिकाको विश्वास छ ।
भविष्यमा स्मार्ट सिटीको रूपमा विकास गर्ने आधारसहित डिजिटल घर नम्बर प्रणाली लागू गरी घरघरमा नम्बर टाँस्ने अभियान सुरु गरिएको उनको भनाइ छ ।
नगरपालिकाका प्रत्येक घरमा क्यूआर कोडसहितको डिजिटल नम्बर जडान गरी घरको विस्तृत विवरण सङ्कलन गर्ने गरिनेछ । जसमा प्रत्येक घरको ठेगाना, परिवार विवरण, नक्सा समन्वयलगायतका सूचना डिजिटल रूपमा अभिलेख राखिने छ । प्रणालीले कर सङ्कलन, योजना निर्माण, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उनले जानकारी दिए ।






