सूर्यविनायक नगरपालिकाः सडकमा हुन्नन् खाल्डाखुल्डी, सेवामा पेपरलेस, हुन्छ– एक घर एक उद्यम

 

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षमा नगर सडकलाई खाल्डाखुल्डीरहित बनाउने भएको छ ।

चालु आर्थिक वर्षको लागि नगरपालिकाले ल्याएको बजेटमा खाल्डा खुल्डी पुर्नको लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । यसको लागि नगरपालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बजेटमा नगरपालिकालाई पूर्वाधारको दृष्टिकोणबाट मजबुत बनाउन विगत ९ बर्षसम्म ‘दिगो पूर्वाधारः नगर विकासको बलियो आधार’ भन्ने मूल मन्त्रलाई नछोडि पूर्वाधारको क्षेत्रमा लगानी गर्ने नीति लिइएको छ । चालु आर्थिक बर्षमा थालेका सबै कामहरु पुरा गर्ने तरिकाले बजेटको विनियोजन गरिएको नगरपालिकाका उपमेयर सरिता तिमसिना (भट्टराई) ले जानकारी दिइन् ।

नदीप्रणाली र परम्परागत कुलोको प्राकृतिक र निर्वाध वहाव प्रणालीको व्यवस्थापन गर्न र जोखिममुक्त बनाउनका लागि विस्तृत अध्ययन गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ ।

यस्तै, नरपालिकाभित्र रहेका पुरातात्विक मठ मन्दिर, सामुदायिक भवन, फल्चा, पाटी पौवाहरुको अभिलेख तयार गरी अधुरा रहेका यस्ता संरचनाहरुलाई सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षमा वडा नं. १ को प्रशासकीय भवन सम्पन्न गर्ने लक्ष्य लिएको छ । अन्य वडाहरुको प्रशासकीय भवन निर्माण भइसकेको छ ।

फेसलेस र पेपरलेस सेवा

नगरपालिकाले सार्वजनिक सेवा प्रवाहलाई फेसलेस र पेपरलेस बनाउन प्रविधिको उच्चतम प्रयोग गर्ने भएको छ । 

नगरपालिकाले युग सुहाँउदो सूचना प्रविधिको प्रयोग गरी सार्वजनिक सेवा व्यवस्थापनलाई छिटो, छरितो, पारदर्शी र भरपर्दो बनाउने घोषणा गरेको छ । सिसिटिभी क्यामेरा मर्मत तथा जडान गरी सुरक्षित शहर निर्माण गर्न बजेटको व्यवस्था गरिएको छ । 

नगरपालिकाले गत आर्थिक वर्षदेखि डिजिटल घर नम्बरिङ प्रणाली लागू गरेको थियो । यसका लागि चालु आर्थिक वर्षमा  प्रणाली लागू भएका वडाहरुमा क्यूआर सहितको नम्बर प्लेट जडान गर्ने कार्यका लागि रकम विनियोजन गरिएको छ ।

यति मात्रै होइन, सबै वडाहरुलाई नगरपालिकासँग जोड्न अफलाईन लिंक स्थापना गरिने भएको छ । यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन टोकन प्रणालीको शुरुवात गर्ने भएको छ भने नगरपालिका र अन्तर्गत कार्यरत जनशक्तिलाई सूचना प्रविधि सम्बन्धी तालिमको व्यवस्था गरिने भएको छ ।

नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुमा सेवाको गुणस्तर सूनिश्चित गर्न आईएसओ प्रमाणपत्र प्राप्त गरिने भएको छ । नगरपालिका र अन्तर्गतबाट प्रदान गरिने सबै प्रकारका सेवालाई डिजिटइज्ड गरी फेसलेस र पेपरलेस सार्वजनिक सेवा मार्फत विद्युतीय शासन तर्फ उन्मुख हुन आवश्यक बजेट विनियोजन गरिएको उपमेयर भट्टराईले जानकारी दिइन् ।

कर्मचारीको क्षमताको भरपुर उपयोग गरी वाञ्छित लक्ष्य हाँसिल गर्न नतिजामा आधारित कार्यसम्पादन एवं प्रोत्साहन प्रणाली अवलम्वन गरिने भएको छ । यस्तो व्यवस्थालाई विद्युतीय प्रणालीमा आबद्द गरिने नगरपालिकाले जानकारी दिएको छ ।

जनप्रतिनिधि र कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा तालिम, प्रशिक्षण र असल अभ्यास सिकाई अन्तरपालिका अध्ययन अबलोकन भ्रमणको व्यवस्था पनि गरिएको छ ।

नगरपालिका र अन्तर्गतका कार्यालयबाट प्रवाह हुने सेवालाई सर्वसुलभ, छिटो, छरितो र प्रभावकारी बनाउन यस अघि प्रयोगमा रहेका सफ्टवेयर प्रणालीलाई अद्यावधिक गर्दै प्रभावकारी कार्यान्वयन गर्नुका साथै एकीकृत र प्रविधिमैत्री सेवा प्रवाहको व्यवस्था मिलाउन अफिस अटोमेशन प्रणालीको विकास र कार्यान्वयन गरी नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक व्यवस्था मिलाइएको बजेट वक्तव्यमा उल्लेख छ ।

नगर क्षेत्रभित्रका विभिन्न कल कारखाना, अस्पताल, सामुदायिक तथा संस्थागत विद्यालय, सहकारी एवं अन्य त्यस्तै औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी तथा मजदुर वर्गको लागि सामाजिक सुरक्षा प्रत्याभूत गर्न सामाजिक सुरक्षा कोषसँग सहकार्य गरी आवश्यक कार्यक्रम अगाडि बढाइने नगरपालिकाले जानकारी दिएको छ ।

यस्तै, नगरपालिकामा करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई समेत नेपाल सरकारको प्रचलित कानून बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक व्यवस्था मिलाइएको बजेट वक्तव्यमा उल्लेख छ ।

उद्यम, व्यवसाय तथा रोजगारी

नगरपालिकाले ‘एक घर एक उद्यम’ लक्ष्यका साथ नवप्रवर्तनमा आधारित नयाँ उद्यमी सृजनाका लागि नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रम प्राथमिकताका साथ संचालन गर्ने भएको छ । यो कार्यक्रम विगत आर्थिक वर्षहरुमा पनि संचालनमा थिए । सोही कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

बजेटमा व्यवसाय दर्ता गरी नविकरण नगरिएका ठुलो संख्यामा रहेका व्यवसायहरुलाई सहुलियतसहित करको दायरामा ल्याउन आर्थिक बर्ष २०७७र०७८ भन्दा अगाडिको सम्पूर्ण शुल्क तथा जरिवाना मिनाहाको व्यवस्था बजेटले गरेको छ ।

लघु, घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित सामग्रीहरुको प्रचार प्रसार र बजारीकरण गर्न नगरस्तरीय औद्योगिक प्रदर्शनी आयोजनाको लागि बजेट व्यवस्था गरिएको छ ।

उपभोक्ताको स्वास्थ्य र हितका लागि स्वच्छ, गुणस्तरीय र सर्वसुलभ रुपमा दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धताका लागि बजार अनुगमन कार्य तिब्र पारिनेछ भनें व्यवसाय दर्ता र नवीकरण अभियानलाई निरन्तरता दिनको लागि बजेट वनियोजन पनि गरिएको छ ।

नगरपालिकाले ‘स्थानीय उत्पादन, स्थानीय बजारः आन्तरिक आर्थिक क्रियाकलाप सम्बृद्धिको आधार’ भन्ने मुल अभिप्रायलाई सार्थक बनाउन नगरक्षेत्रभित्रका सम्भाव्य स्थानमा नियमित हाटबजार संचालन हुने स्थानमा हाटबजार केन्द्रलाई ब्यवस्थित बनाउन बजेट विनियोजन गरेको जानकारी दिइएको छ ।

बजेटकाे पूर्णपाठ

 

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update