भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ वडा कार्यालयले आफ्ना क्षेत्रका ज्येष्ठ नागरिकहरूका लागि धार्मिक भ्रमणको आयोजना गर्ने भएको छ। वडा कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै भ्रमणमा जान इच्छुक ज्येष्ठ नागरिकहरूलाई सम्पर्क गर्न अनुरोध गरेको हो।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि वडा स्तरीय ज्येष्ठ नागरिक शीर्षकमा विनियोजित रकमबाट यो कार्यक्रम सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ।
यही असार ७ गते, आइतबारका दिन हुने सो कार्यक्रम काठमाडौं जिल्लाका तारकेश्वर नगरपालिकामा अवस्थित शान्ति धामसम्म हुनेछ ।
यो धार्मिक भ्रमणमा सूर्यविनायक नगरपालिका वडा नं. २ मा स्थायी बसोबास गर्ने ज्येष्ठ नागरिकहरू मात्र सहभागी हुन पाउने वडाध्यक्ष प्रदिप कार्कीले जानकारी दिए ।
भ्रमणमा जान इच्छुक ज्येष्ठ नागरिकहरूलाई सहजीकरणका लागि वडा स्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूसँग सम्पर्क गर्न आग्रह गरिएको छ।
भ्रमणले ज्येष्ठ नागरिकहरूलाई धार्मिक पुनर्ताजगी गराउन र उनीहरूको सम्मानमा टेवा पुर्याउने विश्वास लिइएको वडा अध्यक्ष कार्कीले भने





