काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माटो परीक्षणका लागि किसानबाट माटोको नमुना संकलन गर्ने समयावधि थप ७ दिन बढाएको छ।
नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत माटो परीक्षण तथा कृषि चुन वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो। यसका लागि यसअघि २०८३ असोज २० गतेदेखि २१ दिनसम्म माटोको नमुना संकलन गर्ने सूचना जारी गरिएको थियो।
तर, तोकिएको अन्तिम समयसम्म पर्याप्त मात्रामा माटोको नमुना संकलन नभएपछि थप ७ दिन समय थप गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।
नगरपालिकाले माटोको नमुना संकलन गरी सम्बन्धित वडा कार्यालय वा सूर्यविनायक नगरपालिकाको कृषि विकास शाखामा कार्यालय समयभित्र बुझाउन किसानलाई आग्रह गरेको छ।
माटोको नमुना संकलन गर्दा किसानले केही मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नगरपालिकाले जनाएको छ। एक रोपनी जग्गाबाट प्रतिनिधिमूलक हुने गरी पाँच फरक स्थानबाट माटोको नमुना लिनुपर्नेछ। गाईवस्तु बाँध्ने ठाउँ, मल राखेको स्थान, सिँचाइ कुलो, झाडी, रूखको फेद तथा जमिनको डिलबाट माटो संकलन गर्न पाइने छैन।
त्यस्तै, नमुना संकलन गर्दा करिब १५ देखि २० सेन्टिमिटर वा लगभग एक बित्ता गहिराइसम्मको माटो भी आकारमा खनेर लिनुपर्नेछ। खेतबारीको आली तथा कान्लानजिकबाट नमुना लिन नहुने र जमिनको माथिल्लो भागको दुईदेखि तीन इन्च माटो हटाएर मात्र नमुना संकलन गर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।
संकलन गरिएको माटो राम्ररी मिसाएर करिब आधा केजी अर्थात् ५०० ग्राम नमुना छुट्याउनुपर्नेछ। पानी जम्ने वा निकास हुने स्थान तथा वर्षा वा पानी परिरहेको समयमा पनि नमुना संकलन नगर्न नगरपालिकाले आग्रह गरेको छ।
माटोको नमुनालाई सफा प्लास्टिकको थैलोमा राखी किसानको नाम, ठेगाना, नमुना संकलन गरेको मिति, खेतबारीको विवरण, लगाइएको बाली, प्रयोग गरिएको मलखाद तथा माटो परीक्षणपछि लगाउने बालीको विवरण स्पष्ट खुलाउनुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले माटो परीक्षणबाट प्राप्त नतिजाका आधारमा माटोको अवस्था पहिचान गरी उपयुक्त कृषि चुन वितरण तथा खेती प्रणालीमा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।



