गणितमा अधिकांश विद्यार्थी फेल भएपछि खाँडादेवी गाउँपालिकाले जागिरबाट निकाल्यो शिक्षक

काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिका–४ मा रजगाउँमा पर्ने भीमेश्वर प्रसुन कडेल माध्यामिक विद्यालयले गणित विषय अध्यापन गराउँदै आएका एक जना राहत शिक्षकलाई जागिरबाट निकालिएको छ ।

गत शैक्षिकशत्रको कक्षा ८ को परीक्षामा एक जना पनि विद्यार्थी पास नभएपछि शिक्षक राजकुमार साहलाई जागिरबाट निकालिएको प्रधानाध्यापक भरत भुजेलले जानकारी दिए ।

प्रधानाध्यापक भुजेलले शिक्षक साहलाई हाजिर नगराउने जानकारी गराएका छन् । गत बैशाख २ गते विद्यालय व्यवस्थापन समितिको बैठकमा सो विषयमा छलफल भएको थियो । छलफलका क्रममा गणित विषयमा पास हुने विद्यार्थीको संख्या असाध्यै कम भएपछि विषय शिक्षक साहलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको थियो । सोही अनुसार शिक्षक साहसँग सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि जागिरबाट निकाल्ने निर्णय भएको प्रधानाध्यापक भुजेलको भनाइ छ ।

उनले सो विषयको जानकारी शिक्षक साह र सम्बन्धित निकायलाई गराइसकेका छन् ।

khadadevi-teacher-1780552216.jpg
‘यस विद्यालयको मिति २०८३र०१र०२ विद्यालय व्यवस्थापन समितिको बैठकले आधारभुत तह उत्तिर्ण परीक्षा कक्षा ८ को नतिजामा छलफल गर्ने क्रममा गणित विषयको नतिजा अति न्यून रहेको र यस विद्यालयका नि।मा।वि राहात गणित शिक्षक राजकुमार साहले दिईएको स्पष्टिकरण उपर छलफलमा चित्तबुझ्दो नभएकोले मिति २०८३र०१र०३ गतेबाट विद्यालयमा हाजिरी नगराउने भन्ने निर्णय भए बमोजिम सो को जानकारीका लागि शिक्षा युवा तथा खेलकुद शाखामा अनुरोध गरिन्छ’ प्रधानाध्यापक भुजेलले खाँडादेवी गाउँपालिकालाई लेखेको पत्रमा उल्लेख छ ।

प्रधानाध्यापकबाट यस्तो पत्र प्राप्त भएपछि गाउँपालिकाले शिक्षक साहलाई सेवाबाट हटाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update