सिद्धलेक गाउँपालिकाले भन्यो : अवैध क्रसर र फिरफिरे तत्कालन बन्द गर्नू

काठमाडौँ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले अवैध क्रसर, फिरफिरे उद्योग तथा प्राकृतिक स्रोत साधन दोहन रोक्न सक्रियता देखाएको छ ।

गाउँपालिकाको वडा नं. १ देखि ७ भित्रका खोला, नाला तथा अन्य प्राकृतिक स्रोत क्षेत्रहरूबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल लगायतका प्राकृतिक स्रोतजन्य सामग्रीको उत्खनन, संकलन, ओसारपसार तथा बिक्री वितरण भएको भन्दै त्यसो नगर्न सचेत गराएको हो ।

गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाका अनुसार उक्त कार्य प्रचलित कानुन तथा गाउँपालिकाको स्वीकृति बिना गर्न पाइदैन ।

‘गाउँपालिका क्षेत्रभित्र केही व्यक्ति तथा संस्थाबाट अनुमति एवं स्वीकृति बिना अवैध रूपमा क्रसर तथा फिरफिरे उद्योग सञ्चालन गरी प्राकृतिक स्रोत साधनको दोहन भइरहेको, रात्रीकालीन समयमा समेत उत्खनन तथा ढुवानी गरी वातावरणीय तथा सामाजिक समस्या सिर्जना भएको सम्बन्धमा गाउँपालिकाको ध्यानाकर्षण भएको छ। 

तसर्थ, प्रचलित कानुन विपरीत सञ्चालन भएका अवैध क्रसर तथा फिरफिरे उद्योग, अनधिकृत उत्खनन, चोरी निकासी तथा प्राकृतिक स्रोत साधन दोहनका सम्पूर्ण कार्य तत्काल बन्द गर्न सम्बन्धित सबैलाई निर्देशन दिइएको छ,’ अध्यक्ष खतिवडाले भने ।

उनले गाउँपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा अवैध उत्खनन, ढुवानी वा क्रसर/फिरफिरे उद्योग सञ्चालन भएको जानकारी प्राप्त भएमा नजिकको वडा कार्यालय, गाउँपालिका कार्यालय वा सुरक्षा निकायमा जानकारी गराइदिन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update