म्याग्दी। म्याग्दीकाे रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गरिरहेका छन्।
विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिएका हुन्।
छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताए ।
'पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरापालन गरेको थिएँ', उनले भने, 'छोराछोरीले पोर्चुगल बोलाएपछि करिब १४–१५ महिना त्यहाँ बसेँ, घुमे । पिआर कार्ड पनि बनाएँ । घर आएपछि फर्किएर पोर्चुगल जान मन लागेन । सम्मान र सन्तुष्टिका लागि बाख्रापालनलाई निरन्तरता दिएको हो ।'
पोर्चुगल जानुअघि मल्लले २०६८ सालमा रघुगङ्गा बाख्रा तथा कृषि फार्म स्थापना गरेर बाख्रा, कुखुरापालन, मासु पसल सञ्चालन गर्दै आएका थिए।
हाल ९१ वटा बाख्रा भएको मल्लको फार्मबाट वार्षिक २५ देखि ३० वटा खसीबोका बिक्री हुन्छ ।
खसीबोकाकै हाराहारीमा पाल्नका लागि उन्नत जातका पाठापाठी पनि किसानले लैजाने गरेका छन् । उनको फार्ममा स्थानीय जमुनापारी, सिनाल र बोयर जातका बाख्रा छन् ।
फार्ममा उनले परिवारका दुई जना सदस्यबाहेक थप दुई जनालाई रोजगारी दिएका छन्।
मासुका लागि प्रतिकिलो छ सय रूपैयाँ र नश्ल सुधार गरेका पाठापाठीलाई प्रतिकिलो आठ सयदेखि एक हजारका दरले गोठबाटै बिक्री हुने गरेको मल्लले बताए ।
उनका अनुसार फार्ममा करिब ५० लाखभन्दा बढी लगानी भएको छ ।
उनले घरवरपर प्रशस्त पाखोबारी भएकाले चरनमा आधारित बाख्रापालन गरेका छन्। खोरभित्र उमेर समूहअनुसार पाठापाठी, माउ बाख्रा, खसीबोका राख्ने छुट्टाछुट्टै कोठा छन् ।
गलेश्वर र बेनी उनले उत्पादन गरेका खसीबोकाको बजार हुन् । व्यापारी गोठमै आएर खसीबोका किनेर लैजान्छन् ।
विदेशमा स्थायी बसोबासको अवसर हुँदाहुँदै पनि मल्लले जन्मथलो फर्केर बाख्रापालनलाई निरन्तरता दिएकाले कृषि क्षेत्रमा अवसर र आत्मसन्तुष्टि दुवै प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ ।
स्थानीय स्रोतसाधन, पाखोबारी र चरनको सदुपयोग गरेर रोजगारी सृजना, आयआर्जन र उद्यमशीलता विकास गर्न सकिने उनको सन्देश छ ।
'युवापुस्तासहित वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने मेरो प्रयास हो', मल्लले भने, 'विदेशको सुविधाभन्दा आफ्नै गाउँमा कृषि उद्यमबाट प्राप्त हुने सम्मान, आत्मसन्तुष्टि र आत्मनिर्भरता ठूलो हुने महसुस गरेको छु ।'





