कर्णाली । कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गरेको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आवका लागि रु ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बजेट प्रस्तुत गरेका हुन ।
प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ रु २० अर्ब ७४ करोड ६७ लाख १२ हजार र चालुतर्फ रु आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार विनियोजन गरिएको उनले बताए । यो बजेट चालु आर्थिक वर्षको तुलनामा सात दशमलव २८ प्रतिशतले वृद्धि भएको हो ।
योजनामन्त्री शाहका अनुसार वित्तीय व्यवस्थापनतर्फ रु ५० करोड, स्थानीय तहमा वित्तीय हस्तारणतर्फ रु पाँच अर्ब ५४ करोड ७२ लाख ८० हजार रकम विनियोजन गरिएको छ ।
आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु ८५ करोड पाँच लाख ९० हजार र चालु आवको खर्च नभई बचत हुने रकम रु छ अर्ब ४१ करोड ५१ लाख नौ हजार, सङ्घीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुने रकम रु १० अर्ब ६६ करोड ५० लाख ४९ हजार विनियोजन गरिएको छ । वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रु १० अर्ब ६३ करोड २३ लाख र सशर्त अनुदानबाट रु पाँच अर्ब ६७ करोड २५ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानतर्फ रु ६६ करोड ७८ लाख र विशेष अनुदानतर्फ रु ४८ करोड ५६ लाख परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
सङ्घीय सरकारबाट सशर्त अनुदानबाट प्राप्त हुने वैदेशिक सहायताबाहेक अन्य वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम कार्यान्वयनका लागि अपुग रकमबाट स्रोत परिचालन गरिने योजनामन्त्री शाहले जानकारी दिए । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२र८३ का लागि रु ३२ अर्ब ९९ करोड ६६ लाख ९५ हजार बजेट विनियोजन गरेको थियो ।





