झापा । झापाको बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ ।
नगरपालिकाको ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत ३० जना कृषकलाई घाँस काट्ने चापकटर र ६५ जना कृषकलाई काउम्याट वितरण गरिएको छ ।
नगरपालिकाका मेयर पवित्रा महतारा र उपमेयर नगेन्द्रप्रसाद सङ्ग्रौलाले संयुक्त रूपमा कृषकलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखामार्फत सञ्चालन गरिएको उक्त कार्यक्रमले पशुपालन व्यवसायलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेयर प्रसाईले नगरपालिकाबाट सहुलियतमा प्राप्त सामग्रीको अधिकतम सदुपयोग गर्न कृषकहरूलाई आग्रह गरिन् । आधुनिक प्रविधि र उपकरणको प्रयोगले पशुपालन व्यवसायलाई सहज, उत्पादनशील र आम्दानीमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालका अनुसार चापकटर प्राप्त गर्न २५० तथा काउम्याटका लागि ९२ वटा निवेदन परेको थियो । प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीले कृषकका गोठ, पशुधनको अवस्था, व्यवसायको प्रकृति तथा सामग्रीको आवश्यकतासम्बन्धी स्थलगत अनुगमन गरी निर्धारित मापदण्ड पूरा गरेका कृषकलाई ती सामग्री उपलब्ध गराइएको उनले जानकारी दिइन्।
चापकटरले पशुका लागि घाँस तथा पराल काट्ने कार्यलाई छिटो, सहज र श्रम बचत हुने बनाउने तथा काउम्याटको प्रयोगले गोठलाई सफा र व्यवस्थित राख्न र पशुलाई स्वस्थ्य तुल्याइ दूध उत्पादनमा सकारात्मक प्रभाव पार्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिँदै कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यस्ता लागत साझेदारीका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
आधुनिक कृषि प्रविधि र उपकरणमा कृषकको पहुँच विस्तार गरी उत्पादन वृद्धि, लागत न्यूनीकरण र व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । रासस





