बर्दिवास नगरपालिकाले अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

 

महोत्तरी । बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी र सुकुमवासीले पहिलोपल्ट सेतो पुर्जा (घरजग्गाको निस्सा) पाउने भएका छन् ।

बर्दिवास नगरपालिकाका १४ वटा वडामा वर्षौदेखि ऐलानी, पर्ति र सरकारी जग्गामा घर बनाएर बसेका अव्यवस्थित बसोबासी र सुकुमवासीलाई बसोबास र जग्गाको भोगाधिकार प्रमाणित गर्दै सेतो पुर्जा दिने व्यवस्था अन्तिम चरणमा पुगेको छ ।  नगरपालिकाले भोग प्रमाणका आधारमा सेतो निस्सा प्रदान गरेपनि जग्गाको स्थायी निस्सा (लालपुर्जा) प्रदानको अधिकार भने सङ्घीय निकायअन्तर्गत नै रहने कानुनी व्यवस्था छ । आगामी आर्थिक वर्षभित्रै अव्यवस्थित बसोबासी र सुकुमवासीलाई जग्गा र  सेतो पुर्जा उपलब्ध गराउने बर्दिवास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले जानकारी दिए ।

बर्दिवास नगरक्षेत्रका १४ वटै वडामा अव्यवस्थित बसोबासी र सुकुमवासीको बसोबास छ । जिल्लाका १५ स्थानीयमध्ये सबैभन्दा बढी बर्दिवास नगरपालिकाको  १४ नं वडामा  ६० भन्दा बढी सुकुमवासी बस्ती छन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नेपालको संविधान अनुसूची–८ ले स्थानीय तहलाई भूमि व्यवस्थापनसम्बन्धी प्रदान गरेको अधिकार क्षेत्रमा रही नगरपालिकाले सेतो निस्सा वितरण गर्ने प्रक्रिया सुरु गर्ने भएको हो ।   

 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update