काठमाडाैँ । रौतहटको मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
असार १० गते सम्पन्न दशौं नगरसभा तथा बजेट अधिवेशनमा मेयर रिनाकुमारी साहले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममार्फत ‘निःशुल्क बिजुली’, ‘निःशुल्क पानी’, ‘छोरीसँग मेयर’ कार्यक्रम, ‘नगर मास्टर’ तथा ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको हो।
नगरपालिकाले दलित समुदायका लागि नमूना एकीकृत दलित बस्ती निर्माण, ‘कच्ची सडक मुक्त नगर’ अभियान तथा आधुनिक पूर्वाधार विकासका योजनालाई समेत प्राथमिकतामा राखेको छ। नगरपालिकाका अनुसार यी कार्यक्रमले मौलापुरलाई मात्रै नभई समग्र रौतहट, मधेश प्रदेश तथा देशकै लागि उदाहरणीय स्थानीय तहका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।
मेयर साहले स्थानीय सरकार जनताको सेवाका लागि रहेको उल्लेख गर्दै नगर प्रहरीको सट्टा नगर शिक्षक र नगर चिकित्सकको व्यवस्था गरिएको बताइन्।
सो नगरपालिकाले खानेपानी र विद्युत् महसुलसमेत व्यहोर्दै आएको छ। साथै छोरीहरूको विवाहमा प्रतिव्यक्ति ३० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।





