मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अबैध रुपमा रकम झिकेको मेयर साहको आरोप

 

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेमाथि आर्थिक अपचलनको आरोप लगाएकी छन् ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरे महिनौदेखि वेपत्ता भएका र नगरपालिकाको खाताबाट करोडौं रुपैयाँ अवैध रुपमा रकम निकालेको उनको आरोप छ ।

मेयर साहले एक विज्ञप्ति प्रकाशित गरी प्रमुख प्रशासकीय अधिकृत घिमिरेले काठमाडौंमै बसेर करोडौ रुपैयाँ अवैध रुपमा निकालेको त्यसलाई नगरपालिकाको खातामा तुरुन्त फिर्ता ल्याउन र घिमिरेलाई निलम्बन गरेर छानविन गरी कारवाही गर्न माग गरेकी छन् ।

मेयर साहले प्रशासनिक प्रमुखको हैसियतमा आफूलाई तोकिएको काम कर्तव्य पालना गर्नूको सट्टा करोडौं रकम दुरुपयोग गरि लूट मचाउने कार्य कुनै पनि हिसाबले सही नभएको भन्दै सो रकम नगरपालिकाको खातामा ल्याएर छानबिनको गर्नुपर्ने उल्लेख गरेकी छन् ।

‘मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले काठमाडौंमै बसेर हिजो नगरपालिकाको खाताबाट करोडौं रुपैयाँ निकालेको विषयप्रति मेरो गम्भीर ध्यानाकार्षण भएको छ । महिनौंदेखि कार्यालय नआउने, नगरपालिकालाई अस्तव्यस्त बनाउने, नगरको सेवाप्रवाहलाई ठप्प पारी सेवाग्राहीलाई दुःख दिने, बजेट फ्रिज गराई बिकास निर्माण अवरुद्ध पार्ने, मुख्यतः प्रशासनिक प्रमुखको हैसियतमा आफूलाई तोकिएको काम कर्तव्य पालना गर्नूको सट्टा दुरुपयोग गरि लूट मचाउने कार्य कुनै पनि हिसाबले सही छैन,’ मेयर साहले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेतृत्वको जानकारी र निर्णयबिना चुपचाप खाता साफ गरेको घटना गम्भीर आर्थिक अपराध भएको भन्दै मेयर साहले सरकारी खाताबाट मनपरी निकालिएको अवैध रकम तुरुन्त नगरपालिकाको खातामा फिर्ता गर्न विषेश आग्रह पनि गरेकी छन् ।

‘सरकारी ढुकुटीलाई आफ्नो पैतृक सम्पत्तिजस्तो ठानेर मनपरी लुट मच्चाउने यो कार्य आर्थिक उदण्डताको पराकाष्ठा मात्र नभई भ्रष्टाचारजन्य अपराध हो । यसमा संलग्न जोसुकै भएपनि छानबिनको दायरामा ल्याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदछु,’ मेयर साहले भनेकी छन् । 

कार्यक्षेत्रमा नगई काठमाडौंमै बसेर गरेको आर्थिक अनियमितता एवं भ्रष्टाचारले नगरवासी पीडित भएको उनको आरोप छ ।

‘नगरपालिकामा उस्तै प्रकृतिको विषयमा लाभ हुने ठाउँमा भुक्तानी गरिएको र लाभ नहुने ठाउँमा भुक्तानी रोकिएको विषयले पनि थप तनाव उत्पन्न भएको अवस्था छ । यसर्थ, गैरकानूनी काम गरेका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी सरकारी खाताबाट निकालिएको करोडौंको अवैध रकम उसूलऊपर गरि नगरपालिकाको खातामा पिर्ता गराई दिन हुन नेपाल सरकारसंग जोडदार माग गर्दछु,’ मेयर साहले विज्ञप्तिमा उल्लेख गरेकी छन् । 

सो विषयमा जानकारी लिनको लागि प्रमुख प्रशासकीय अधिकृत घिमिरेसँग सम्पर्क गर्दा उनको मोबाइल फोन बन्द भएकोले सम्पर्क हुन सकेन ।

यता उपमेयर नागेन्द्रप्रसाद यादवले भने रकम भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृतले गडबढी नगरेको बताए ।

‘जसजसले काम गरेका थिए, भएको कामको जसजसले विल बुझाएका थिए, उनीहरुको भुक्तानी भएको छ । काम नगरेको पैसा भुक्तानी रोकिएको छ । प्रमुख प्रशासकीय अधिकृतले कुनै गडबढी गरेको जस्ता त मैले थाहा पाएको छैन,’ उपमेयर यादवले वडापालिकासँग भने ।

 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update