देशभरका २७९ नगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, यी हुन नल्याउने १४ नगरपालिका

 

काठमाडौँ । देशभरका २९३ मध्ये २७९ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । उपमहानगरपालिका र महानगरपालिका पनि यसैभित्र पर्दछन् ।

स्थानीय सरकार संचालन ऐनले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नु पर्ने वाध्यकारी व्यवस्था गरेको छ ।

नेपाल नगरपालिका संघले दिएको जानकारी अनुसार १० गतेभित्र २७९ नगरपालिको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् भने १४ वटा नगरपालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

कोशी प्रदेशमा ४९ वटा नगरपालिका छन् । यसमध्ये ४८ नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेशमा पर्ने सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याउन नसकेको हो ।

यस्तै, मधेश प्रदेशका ७७ नगरपालिकामध्ये ६७ वटाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । रौतहटका गरुडा, गढिमाई, कटहरिया र फतुवा जियपुर गरी ४ वटा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

मधेश प्रदेशका सर्लाहीको हविन नगरपालिका, सिराहाको सुखीपुर नगरपालिका तथा धनुषाका कमला, जनकपुरधाम उपमहानगरपालिका र विदेह नगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएका छैनन् । महोत्तरीको जलेश्वर नगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएको छैन ।

बागमती प्रदेशमा ४५ नगरपालिका छन् भने ४४ वटाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । बागमती प्रदेशमा पर्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र ल्याउन सकेन ।

गण्डकी प्रदेशमा २७ नगरपालिका रहेकोमा २६ वटाले असार १० गतेभित्रै बजेट ल्याए । बागलुङ जिल्लाको बागलुङ नगरपालिकाले असार १० गतेभित्र बजेट ल्याउन सकेको छैन ।

लुम्बनी र कर्णाली प्रदेशका सबै नगरपालिकाले असार १० गतेभित्रै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । लुम्बिनी प्रदेशमा ३६ र कर्णाली प्रदेशमा २५ वटा नगरपालिका छन् ।

सुदूरपश्चिम प्रदेशका ३४ नगरपालिकामध्ये ३३ वटाले असार १० गतेभित्रै बजेट सार्वजनिक गरे भने एउटा नगरपालिकाले सो मितिभित्र बजेट ल्याउन सकेन । कैलालीको टिकापुर नगरपालिकाले असार १० गतेभित्र बजेट सार्वजनिक गर्न नसकेको हो ।

 

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update