काठमाडौँ । काठमाडौँको ठमेलस्थित छाया सेन्टर बनेको जग्गाको विषय अहिले चासो र बहसमा छ । सो जग्गा २०२१ सालको नापीमा सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाम राखिएको र पछि कैफियतपूर्ण ढंगले व्यक्तिको नाममा रैतानी गरी छाया सेन्टर बनाइएको आरोप लगाइएको छ ।
छाया सेन्टरमा अहिलेसम्म ५ अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको लगानीकर्ताहरु बताउँछन् । सो कम्प्लेक्समा २०० भन्दा बढी रिटेल पसल संचालनको संरचना छ । १६७ कोठाको पाँचतारे होटल अलफ्ट छ, मल्टिप्लेक्स सिनेमा, रेस्टुरेन्ट, बैंक्वेट हल, कन्फरेन्स सुविधा, भूमिगत पार्किङ तथा अन्य व्यावसायिक सुविधा उपलब्ध छ । अर्थात नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको ठमेल छाया सेन्टरमा छ ।
छाया सेन्टर बनेको जग्गा
छाया सेन्टरका लगानीकर्ता अहिले तनावमा छन् । तनावको कारण– गुठीको जग्गा मासेर व्यवसायिक भवन बनाइयो भन्ने सार्वजनिक आरोप हो । यो आरोप कति सही, कति गलत भन्ने जानकारीको लागि यसको पृष्ठभूमि केलाउनु पर्ने हुन्छ । यसको लागि विक्रम सम्वत् १९६७ सालसम्म पुग्नुपर्ने हुन्छ ।
विसं १९६७ सालमा नेपालमा जहानीयाँ राणा शासन थियो । नेपालको राजकाज श्री ३ महाराजको आदेशमा चल्थ्यो । श्री ३ महाराज भनेको राणा प्रधानमन्त्री हुन् । नेपालमा नागरिकका छोराछोरीले पनि पढ्न पाउँनु पर्छ भनेर पहिलो पटक कलेज स्थापना गर्ने एक जना श्री ३ महाराज थिए चन्द्र शमशेर जबरा । उनका छोराको नाम थियो– केशर शमशेर जबरा ।
केही वर्षअघिसम्म शिक्षा मन्त्रालय रहेको ठमेलको केशर महल, जहाँ राष्ट्रिय पुस्ताकालय पनि छ, त्यो भवन तिनै केशर शमशेर जवराको थियो । विक्रम सम्बत १९६७ साल माघ २९ गते ठमेलको सिंहसार्थ वाहु गरुड भगवान गुठी जग्गा ताेक सदरबाट केशर महलमा जग्गा मिलान गरियाे, केशर शमशेरको मृत्यूपछि त्यो जग्गा केशरका छोरा केयुर शमशेरको नाममा गयो, अब केयुर शमशेरबाट छुटाई सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा हक कायम गरी पाउँ भनेर काठमाडौँ जिल्ला अदालतमा एउटा मुद्दा पर्छ । तर, जिल्ला अदालत काठमाडौँले विसं २०३० साल वैशाख १२ गते फैसला गर्दै त्यो जग्गामा सिंहसार्थ वाहु गरुड भगवान गुठीको हक कायम हुन सक्दैन भन्छ । सो गुठीका गुठीयारहरु तत्कालिन मध्यमाञ्चल क्षेत्रीय अदालत जान्छन् । सो अदालतले पनि २०३१ साल माघ २२ गते गुठीयारको दाबी पुग्दैन भन्ने फैसला गर्छ । अर्थात जग्गाको हक केयुर शमशेर जबराका बाबु केशर शमशेर जबराकै हुन्छ भन्छ ।
सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयारहरु सर्वाेच्च अदालत जान्छन् । सर्वाेच्च अदालतले सो मुद्दामा पुनरावेदनको अनुमति दिन्छ । अनि यो मुद्दा सर्वाेच्चमा दर्ता हुन्छ । मुद्दा चलेकै बीचमा २०३३ साल पुस ३ गते सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयार र केयुर शमशेरबीच सर्वाेच्च अदालतको रोहवरमा मिलापत्र हुन्छ । सो मिलापत्रमा जग्गा सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा कायम गरिन्छ । अर्थात अब सो जग्गाको जग्गाधनी केशर शमशेर जबरा नभई सिंहसार्थ वाहु गरुड भगवान गुठी हुन्छ र केशर शमशेर जबरा सो जग्गाको दर्तावाल मोही रहन्छन् ।
अर्काे एउटा कुरा– छाया सेन्टर बनेको जग्गामा पहिला एउटा पोखरी (कमल पोखरी) थियो, पोखरी र त्यसको डिलसमेत मासियो भन्ने चर्चा गरिएको छ । केयुर शमशेर जबरा र सिंहसार्थ वाहु गरुड भगवान गुठीको गुठीयारबीच चलेको मुद्दामामिला सो पोखरी र पोखरीको डिल समेत गरी २६ रोपनी जग्गाको नै विषय हो । अर्काे जग्गा वा छुट्टै पोखरीको विषय होइन ।
फेरि केयुर शमशेर र सिंहसार्थ वाहु गरुड भगवान गुठीबीचको सम्बन्ध नै जोडौं ।
२०३३ सालको सर्भेनापीको फिल्डबुकमा सो जग्गाको जग्गाधनी सिंहसार्थ वाहु गरुड भगवान गुठी र मोही केशरशमशेर जबरा लेखिएको छ । केशर शमशेर भनेका केयुर शमशेरका बाबु हुन् ।
२०३३ सालमा गुठी संस्थान ऐन आयो । सो ऐन अनुसार सो जग्गा गुठी लगत तथा तहसिल कार्यालय भद्रकालीको २०३९ साल जेठ २१ गतेको पत्रबाट मोहीको रुपमा रहेका केशर शमशेरको नामबाट नामसारी भएर केयुर शमशेर कायम भयो । अर्थात सिंहसार्थ वाहु गरुड भगवान गुठीको जग्गाको मोही अब केयुर शमशेर जबरा भए ।
केयुरको निधन भएपछि उनकी श्रीमती अम्बिका राणाले सो जग्गाको मोही आफ्नो नाममा नामसारी गरिदिन गुठी लगत तथा तहसिल कार्यालय भद्रकालीमा निवेदन दिइन् । कार्यालयले २०४४ साल माघ २४ गते सो जग्गाको मोही अम्बिका राणालाई कायम गर्यो ।
गुठी संस्थान ऐन २०३३ को दफा ३६ मा तोकिएको दस्तुर बुझाएर गुठीको जग्गा रैतानी नम्बरमा दर्ता गर्न पाउने भन्ने थियो । सो दफामा ‘गुठी रैतान नम्बरीमा दर्ता गर्न पाउनेः गुठी जग्गा कमाउने दर्तावाला मोहीले सो जग्गा आफ्नो नाउँमा गुठी रैतान नम्बरी जग्गामा परिणत गरी दर्ता गराउन चाहेमा निजले तोकिएको रकम तोकिएबमोजिम संस्थानमा बुझाएमा सो जग्गा संस्थानले निजको नाममा गुठी रैतान नम्बरी जग्गामा दर्ता गरी दिनेछ,’ भन्ने थियो ।
ऐनको सोही व्यवस्था अनुसार अम्बिका राणाले सो जग्गा रैतानी गर्ने प्रक्रिया अघि बढाइन् । र, गुठी संस्थानले २०४७ साल माघ १८ गते सो जग्गालाई अम्बिका राणाको नाममा रैतानी नम्बरीमा दर्ता गर्ने निर्णय भयो । अर्थात अब सो जग्गाको जग्गाधनी सिंहसार्थ वाहु गरुड भगवान गुठी रहेन, अम्बिका राणा रहिन् ।
सिंहसार्थ वाहु गरुड भगवान गुठीको जग्गा अम्बिका राणाको नाममा रैतानी नम्बरी दर्ता गर्ने गुठी संस्थानको यो निर्णयमा पनि प्रश्न उठ्यो । संस्थान आफैले २०४७ साल चैत १४ गते आफ्नो निर्णय उल्ट्यायो । अनि अम्बिका राणालाई पहिला तिरेको दस्तुर फिर्ता लिन आउनू भनेर पत्र पठायो । गुठी संस्थानको यो निर्णय विरुद्ध अम्बिका राणा अदालत गइन् । तत्कालिन पुनरावेदन अदालत पाटनले २०५३ साल जेठ २५ गते फैसला गर्दै गुठी संस्थानको पछिल्लो निर्णय बदर हुने भन्यो । अर्थात अम्बिका राणाको नाममा रैतानी नम्बरी दर्ता नै कायम भयो । अदालती प्रक्रियाबाट सो जग्गा अम्बिका राणाको नाममा रैतानी नम्बरी गर्ने निर्णय सही भएको ठहर भयो ।
यसरी जग्गा अम्बिका राणाको नाममा २०५३ सालमा रैतानी नम्बरी भएर आउँदासम्म छाया सेन्टरको कहि कतै नामोनिसान छैन । सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा भएको सो जग्गामा पोखरी थियो भने पनि अम्बिका राणाको नाममा गयो, डिल थियो भने पनि अम्बिका राणाकै भयो ।
तर, सो जग्गाको विषयका विवादहरु अदालतसम्म पुगिरहेका थिए । काठमाडौँ जिल्ला अदालतमा पुगेको एउटा न्यायिक विवादमा अम्बिका राणाले २०६२ साल असार १६ गते सिंहसार्थ वाहु गरुड भगवान गुठीलाई १ करोड ५० लाख रुपैयाँ नगद र ४ आना जग्गा दिने गरी काठमाडौंँ जिल्ला अदालतमा मिलापत्र भयो । विसं १९६७ सालमा केशर शमशेर जबराको अधिनमा गएको भनिएको जग्गा २०६२ सालसम्म विभिन्न चरणमा न्यायिक परीक्षणपछि केशर शमशेरकी बुहारी अम्बिका राणाको नाममा रहेको तथ्य र प्रमाणले पुष्टी गर्छन् ।
जानकारहरुका अनुसार सो जग्गा ठमेलको कोर एरियाभन्दा अलि कोल्टे पर्छ । तर, छाया सेन्टर बन्न लागेपछि सो जग्गामा धेरैको चासो बढेको देखिन्छ । सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा रहेको जग्गाको मोही केशर शमशेर, उनको निधनपछि छोरा केयुर शमशेर मोही कायम, केयुरको पनि निधनपछि उनकी श्रीमती अम्बिका राणा मोही कायम । र, ऐन अनुसार दर्तावाल मोही अम्बिकाको नाममा सो जग्गा रैतानी नम्बरी कायम । भएको यत्ति हो । विगत पृष्ठभूमि यस्तो रहेको जग्गा छाया सेन्टरले खरिद गरेर छाया कम्प्लेक्स बनाएको मात्रै हो, गुठीको जग्गा रैतानी गर्न गराउन, पोखरी मास्न वा बनाउन छाया सेन्टरको भूमिका देखिदैन ।
रैतानी जग्गामा गुठीको हक कायम रहन्छ ?
रैकर जग्गा भनेको विगतदेखि नै व्यक्तिका नाममा दर्ता कायम रहेको जग्गा हो भने रैतानी भनेको विगतमा गुठीको नाममा दर्ता कायम रहेको र दर्तावाल मोहीले गुठी संस्थान ऐन २०३३ को दफा ३६ अनुसार दस्तुर तिरेर रैतानी नम्बरी दर्ता कायम गरेको जग्गा हो । गुठी संस्थानका प्रवक्ता जनक पोखरेल रैकर र रैतानी जग्गामा हकभोगको अधिकार समान रहने बताउँछन् ।
‘रैतानी जग्गा भनेको पनि नम्बरी जग्गा नै हो । पहिला गुठीको नाममा रहेको जग्गा तोकिए अनुसार दस्तुर बुझाएर रैतानी गर्ने कानुनी व्यवस्था अनुसार नम्बरी गरिएको हो । यसमा जग्गाधनीको अधिकार रैकर जग्गाको जस्तै हुन्छ,’ प्रवक्ता पोखरेलले वडापालिकासँग भने ।
काठमाडौँ उपत्यकामा छाया सेन्टर बनेको जग्गा मात्रै रैतानी जग्गा हो ?
काठमाडौँ उपत्यकामा रैतानी जग्गा भनेको छाया सेन्टर बनेको जग्गा मात्रै हो कि अरु पनि छन् भनेर हामीले गुठी संस्थानकै काठमाडौँ शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीलाई सोधेका छौं । उनले काठमाडौँ उपत्यकाभित्र धेरै रोपनी जग्गा गुठीबाट रैतानी गरिएको जानकारी दिए ।
‘काठमाडौँ उपत्यकाभित्र गुठीबाट रैतानी गरिएको जग्गा कति छ भनेर डिजिटल तथ्यांक उतारिरहेका छौं । त्यसैले यति रोपनी छ भनेर भन्नको लागि सो तथ्यांक तयार हुनुपर्छ । तर, काठमाडौँ उपत्यकामा गुठीको जग्गा र रैकर जग्गा बराबर नै छ,’ सुवेदीले वडापालिकासँग भने ।
पहिला गुठीको नाममा रहेको जग्गा नै तोकिए अनुसार दस्तुर बुझाएर रैतानी गर्ने हो । अनौपचारिक स्रोतहरुले भने काठमाडौँ उपत्यकामा ५ हजार रोपनीभन्दा बढी रैतानी जग्गा छ । यस्तो रैतानी जग्गामा धेरैवटा भवन, धेरैवटा कम्प्लेक्स र धेरैवटा होटल बनेका छन् । र, अर्काे रोचक कुरा त के छ भने छाया सेन्टरले गुठीको जग्गा मिच्यो भनेर अड्डा अदालत धाउने एक जना व्यक्तिको घर पनि गुठीकै जग्गामा बनेको स्रोतहरुले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
छाया सेन्टरमा छायाँमा पार्न खोजिएको सत्य





