सरकार भन्छः मल वितरणमा सरकारी संयन्त्र चुस्त, १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति

 

काठमाडौँ । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नुपरेको छैन ।

असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्वतयारी सहितको उपस्थितिले  पुष्टि गरेको बताइएको छ ।

यही असार १ देखि १९ गतेसम्मको सरकारी तथ्याङ्कअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत कूल ४० हजार ५६९।२५ मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ ।

‘विगतका वर्षहरूमा धान रोपाइँको मुख्ययाममै किसानले रासायनिक मल नपाएर सास्ती खेप्नुपर्ने बाध्यात्मक अवस्था थियो । तर यसपटक सरकारले बेलैमा आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण प्रणालीलाई वैज्ञानिक र चुस्त बनाएका कारण किसानले माग गरेकै समयमा सहज रूपमा मल पाइरहेका छन्,’ प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले भनिन् ।

यसबाट राष्ट्रिय आपूर्तिमा सरकारी निकायका बीचको समन्वय पनि निकै प्रभावकारी देखिएको छ । कूल वितरणमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले २६ हजार ९९४।६५ मेट्रिकटन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले १३ हजार ५७४।६ मेट्रिकटन मल उपभोक्ता समक्ष पुर्‍याएर बजारको मागलाई सन्तुलित बनाएको छ ।

रापोइँको समयमा मलको आवश्यकताका बारेमा जानकार रहेको सरकारी संयन्त्रले मागअनुसार कै मल बजारमा पठाएका कारण यस अवधिमा सबैभन्दा बढी २३ हजार ४८२।४ मेट्रिकटन युरिया, १७ हजार ७४९ मेट्रिकटन डिएपी र दुई हजार ३३७ मेट्रिकटन पोटास मल किसानले सहजै प्राप्त गर्न सकेका हुन् ।

विगतका अनुभवहरूलाई हेर्दा असार १५ गते (राष्ट्रिय धान दिवस) को आसपासमा मलको माग अत्यधिक भई प्रणाली नै प्रभावित हुने गर्दथ्यो । असारको सुरुमा दैनिक औसत बिक्री ८७६।४५ मेट्रिकटन मात्र रहेकोमा असार १५ गते बढेर चार हजार ८७७।१५ मेट्रिकटन पुगेको थियो । विगतका कैयौँ बर्षका तुलनामा यो सबैभन्दा धेरै मात्रा हो ।

तर, माग सँगसँगै वितरण प्रणालीलाई पनि समानान्तर रूपमा चुस्त राखिएकाले एकैदिन झण्डै पाँच हजार टन मल वितरण हुँदासमेत कतै पनि आपूर्ति शृङ्खला नखल्बलिएको कृषिका अधिकारीहरु बताउँछन् ।

‘असार १५ गते एकैदिन करिब पाँच हजार मेट्रिकटन मल कुनै अवरोध विना किसानको हातमा पुग्नु आफैँमा सरकारी संयन्त्रको प्रभावकारिता र किसानप्रतिको जवाफदेहिताको बलियो प्रमाण हो । आगामी दिनमा पनि मलको अभाव हुन नदिन प्रधानमन्त्री कार्यालयले निरन्तर अनुगमन र समन्वय गरिरहेकै छ,’ दाहालले भनिन् ।

समयमै बजेट सुनिश्चितता, वैदेशिक खरिद प्रक्रियाको पूर्वतयारी र जिल्ला–जिल्लामा रहेका डिपोको निरन्तर निगरानीका कारण यसवर्ष रासायनिक मलको मौज्दात पर्याप्त रहेको छ ।

सरकारको योजनाबद्ध पहल र सक्रिय अग्रसरताले बाँकी यामहरूमा पनि कृषि क्षेत्रमा आवश्यक सहयोग, समन्वय तथा उत्साहलाई निरन्तरता दिने विश्वास व्यक्त गरिएको छ । रासस

 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update