काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै ७ बुँदै संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ ।
बैंठकमा सहभागी भएका ९ दलले संयुक्त अपिल जारी गरेका हुन् ।
अपिलमा रास्वपा सभापति लामिछाने, कांग्रेस सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, जनता समाजवादी पार्टीका प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन्।
यस्ता छन् संयुक्त वक्तव्य तथा अपिल
१. समवेदना तथा सहानुभूतिः पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
२. सामाजिक सद्भाव र शान्तिको अपिलः
नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ।
३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वानः
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं।
४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वानः
समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ(आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो।
५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिकाः
यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू(भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं। यसका लागि आवश्यक पहलकदमी , निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं।
६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगः
यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन्। तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं।
७. नेपाल सरकारको ध्यानाकर्षणः
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।
अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौं।




