काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भएको एक्स्पोमा चारपांग्रे र दुईपांग्रे गरी ५५ ब्रान्डका ४० भन्दा बढी मोडल प्रदर्शनमा राखिएका छन्।
मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा दीप प्रज्वलन गर्दै एक्स्पोको उद्घाटन गरेका हुन्।
एक्स्पोमा सहभागी विभिन्न कम्पनीले आफ्ना नयाँ तथा विद्युतीय सवारीसाधनसहित विभिन्न मोडल प्रदर्शनीमा राखेका छन्। चारपांग्रे सवारीतर्फ हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, सिट्रोन, आइकार, फोर्थिङ, डेन्जा, बीएआईसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर, वुलिङलगायतका ब्रान्ड सहभागी छन्।
त्यस्तै, दुईपांग्रे सवारीतर्फ बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, अल्ट्राभ्वाइलेट, सीएफ मोटो, ट्रायम्फलगायतका ब्रान्डले सहभागिता जनाएका छन्।
उत्पादक तथा आयातकर्ताको सहकार्यमा स्थापना भएको नाइमाले गत वर्ष पहिलो संस्करणको एक्स्पो आयोजना गरेको थियो। त्यसैको निरन्तरताका रूपमा यस वर्ष दोस्रो संस्करण आयोजना गरिएको हो।
एक्स्पोमा नयाँ पुस्ताका विद्युतीय सवारीसाधन, मोटरसाइकल तथा विभिन्न अटोमोबाइल प्रविधि अवलोकन गर्न सकिने आयोजकले जनाएको छ। दर्शकको सुविधाका लागि कार पार्किङ नेपाल पुलिस क्लबमा र मोटरसाइकल पार्किङ भृकुटीमण्डप परिसरमै व्यवस्था गरिएको छ।
साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रवेशका लागि २०० रुपैयाँको टिकट तोकिएको छ। विद्यार्थीलाई भने टिकटमा ५० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ।



