नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पाँचौँ दिनसम्ममा नै आयोजकले निर्धारण गरेको अवलोकनकर्ता लक्ष्य पूरा भएको छ। साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबार मात्रै ४२ हजार जनाले अवलोकन गरेका छन्। यससँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या १ लाख ५० हजार नाघेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ।

नाइमाले छ दिनमा १ लाख ५० हजारले एक्स्पो अवलोकन गर्ने लक्ष्य राखेको थियो। पाँचौँ दिनमै लक्ष्य पूरा भएपछि आयोजक उत्साहित बनेको छ। एक्स्पो साउन ३१ गते आइतबार समापन हुँदैछ।

शनिबार अवलोकनकर्ताको भीड उल्लेख्य बढेपछि पार्किङ व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको थियो। भृकुटीमण्डप परिसरका खाली स्थानसँगै नेपाल पुलिस क्लबको दुई तला र खाद्य गोदाम ग्राउन्डलगायत क्षेत्रमा पार्किङको व्यवस्था गरिए पनि सवारी व्यवस्थापन गर्न कठिन भएको थियो।

भारी वर्षाका बाबजुद एक्स्पोमा अवलोकनकर्ताको उत्साह भने कम भएन। काठमाडौं सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले वर्षाका कारण केही समय समस्या भए पनि एक्स्पोमा अत्यधिक भीड रहेको बताए। उनले एक्स्पोबाटै आफूले स्कुटर बुक गरेको जानकारी दिए।

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले एक्स्पो सफल भएको बताए। उनका अनुसार आयोजकले राखेको लक्ष्य पूरा भइसकेको छ। उनले एक्स्पोको अन्तिम दिन पनि उल्लेख्य सहभागिता जनाउन आग्रह गरे।

एक्स्पोको उद्घाटन दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए। पाँचौँ दिन शनिबार ४२ हजारले एक्स्पो अवलोकन गरेका हुन्।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै ग्राहक तथा अवलोकनकर्तालाई आकर्षित गरिरहेका छन्। हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्। पाँचौँ दिन लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको थियो।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ठूलो संख्यामा अवलोकनकर्ता उपस्थित हुनुले एक्स्पो सफल भएको बताइन्। पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठूलो संख्यामा दर्शक तथा सम्भावित ग्राहकलाई आकर्षित गर्न सक्नु नाइमाको सफलता भएको बताए।

एक्स्पोमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे दुवै सवारीसाधनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ। विशेषगरी विद्युतीय सवारीसाधन र महँगा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधनमा युवाको रुचि उल्लेख्य देखिएको आयोजकले जनाएको छ।

अवलोकनकर्ताले सवारीसाधन खरिदअघि ब्याट्री क्षमता, मोटर, ड्राइभिङ रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुजस्ता विषयमा बढी चासो राखेका छन्। कम्पनीहरूले ग्राहक आकर्षित गर्न मूल्य छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन्।

एक्स्पोमा सवारीसाधनसँगै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पनि सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। यसले अवलोकनकर्तालाई आफ्नो बजेट र आवश्यकताअनुसार सवारीसाधन छनोट गर्न सहज भएको बताइएको छ।

यसैबीच, एक्स्पोअन्तर्गत शनिबार ‘एआई एन्ड अटोमोटिभ टेक्नोलोजी : ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना भयो। ट्याङ्गिबलका प्रमुख कार्यकारी अधिकृत आलोक खत्रीको सहजीकरणमा भएको संवादमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेल, भ्याडियाज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेज (VOITH) का निर्देशक सूर्यांश वैद्य, नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्चकी कार्यकारी निर्देशक सन्ध्या सिटौला र टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलिया सहभागी थिए।

एक्स्पो अवधिमा विभिन्न विषयमा नाइमा मोबिलिटी संवाद आयोजना हुँदै आएको छ। शुक्रबार ‘ब्याट्री रिसाइकल एन्ड इथानोल ब्लेन्डिङ इन फ्युल’, बिहीबार ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’, बुधबार ‘मोबिलिटी : हिजो, आज र भोलि’ तथा पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) : मोबिलाइजिङ–फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसम्म एक्स्पोका प्रमुख आकर्षण बनेका छन्।

एक्स्पोमा ग्लोबल आइएमई बैंक को–स्पोन्सर, रेडबुल पावर्डबाई, एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा रहेका छन्। त्यसैगरी विभिन्न कम्पनी तथा संस्थाले प्रविधि, शिक्षा, चार्जिङ, राइड, हाइड्रेसन, हस्पिटालिटी, मेडिकल, सुरक्षा, टिकटिङ, क्यूआर, अडियो–भिजुअल, डिजिटल, व्यवस्थापन, कनेक्टिभिटी र प्रकाशन पार्टनरका रूपमा सहकार्य गरेका छन्।

एक्स्पो आइतबार समापन हुनेछ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update