युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै अवसर सिर्जना गरी विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको दूरी घटाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। शिक्षा प्रणालीलाई उद्योगको आवश्यकता र बजारको मागसँग जोड्दै व्यावहारिक सीप, इन्टर्नसिप तथा अप्रेन्टिससिपलाई प्रभावकारी बनाउन सके युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने उनीहरूको भनाइ छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ अन्तर्गत ‘प्रतिभा भित्र्याउने र कामदार बाहिर पठाउने : प्रक्रियामार्फत नेपालमा शिक्षा, सीप र उद्यमशीलताको खाडल पुर्ने’ विषयक संवादमा सहभागी वक्ताले यस्तो धारणा राखेका हुन्।

उद्यमी तथा सांसद विदुषी राणाले नेपालबाट युवाको विदेश पलायन बाध्यता नभई रोजाइ बन्नुपर्ने बताइन्। नेपालमा उद्योग, सूचना प्रविधि, होटल तथा अटोमोबाइललगायत क्षेत्रमा पर्याप्त सम्भावना भए पनि नीतिगत जटिलता र अवसरको अभावका कारण युवा विदेशिन बाध्य भइरहेको उनको भनाइ छ।

युवालाई स्वदेशमै रोक्न सरकार र निजी क्षेत्रको सहकार्यमा रोजगारी तथा उद्यमशीलतामैत्री वातावरण निर्माण गर्नुपर्ने राणाले बताइन्। व्यवसाय सुरु गर्न दर्ता, कर, अनुमति तथा वित्तीय स्रोतका लागि विभिन्न सरकारी निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘वान विन्डो सिस्टम’ लागू गर्नुपर्ने उनको सुझाव छ।

नाइमा संस्थापक तथा उद्यमी सौरभ ज्योतीले आगामी पाँचदेखि १० वर्षमा नेपालको अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताए। त्यसका लागि सवारीसाधनको एसेम्ब्ली उद्योगसँगै पार्टपुर्जा र कम्पोनेन्टको स्थानीय उत्पादन तथा आपूर्ति शृंखला विकास गर्नुपर्ने उनको भनाइ छ।

ज्योतीले शिक्षा क्षेत्र र निजी क्षेत्रबीच ठूलो खाडल रहेको उल्लेख गर्दै उद्योगको आवश्यकता र बजारको मागअनुसार पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए। निजी क्षेत्रले ठूलो हिस्सा रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै उनले उद्यमी तथा लगानीप्रति विश्वास र सुरक्षाको वातावरण निर्माण गर्न सके अर्थतन्त्रले गति लिने बताए।

थापाथली क्याम्पसका एसोसिएट प्रोफेसर लोचन केन्द्र देवकोटाले विश्वविद्यालयबाट अध्ययन पूरा गर्दैमा विद्यार्थीले उद्योगमा आवश्यक सबै काम तत्काल गर्न सक्ने अवस्था नरहेको बताए। विश्वविद्यालयले विद्यार्थीलाई सैद्धान्तिक आधार बलियो बनाउने भएकाले उद्योगमा आवश्यक व्यावहारिक सीप विकासका लागि विश्वविद्यालय, उद्योग र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले पाठ्यक्रम निर्माणदेखि इन्टर्नसिप, अनुसन्धान, विद्यार्थी परियोजना र रोजगारीसम्मको प्रणालीलाई उद्योगसँग जोड्नुपर्ने बताए। विश्वविद्यालयको अनुसन्धान तथा विद्यार्थी परियोजनामा लगानी बढाउनुपर्ने उनको सुझाव छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसकी प्राध्यापक भगवती सेढाईले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माण गरेर युवालाई निराश बनाउन नहुने बताइन्। नेपालमै शिक्षा, सीप र रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै उनले सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र युवाबीच सहकार्य आवश्यक रहेको बताइन्।

उद्योगलाई आवश्यक पर्ने जनशक्तिबारे उद्योगी–व्यवसायीसँग प्रत्यक्ष छलफल गरी पाठ्यक्रम निर्माण गर्नुपर्ने सेढाईको भनाइ छ। उनले उद्यमशीलता तथा स्वरोजगारसम्बन्धी नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै निजी क्षेत्रलाई सीप विकासमा लगानी गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन्।

संवादमा सहभागी चारै जना वक्ताले शिक्षा र रोजगारीबीचको दूरी घटाउन उद्योगसँग प्रत्यक्ष सहकार्य, व्यावहारिक सीप, इन्टर्नसिप तथा अप्रेन्टिससिपलाई प्रभावकारी बनाउनुपर्नेमा समान धारणा राखेका छन्।

उनीहरूका अनुसार नेपालमै पर्याप्त अवसर र रोजगारी सिर्जना गर्न सके दक्ष युवा विदेशिने क्रम घटाउन सकिन्छ। साथै, विदेशमा रहेका नेपाली युवालाई समेत स्वदेश फर्किएर काम गर्ने र उद्यम गर्ने अनुकूल वातावरण निर्माण गर्न सकिने उनीहरूको निष्कर्ष छ।

सरोकारवालाले शिक्षा, उद्योग र सरकारबीचको सहकार्यलाई संस्थागत गर्दै बजारको मागअनुसार सीप विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिन सके युवाको विदेश पलायनलाई दीर्घकालीन रूपमा घटाउन सकिने बताएका छन्।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update