नाइमा मोबिलिटी एक्स्पोमा अवलोकनकर्ताको घुइँचाे : दुई दिनमै ५५ हजारले गरे भ्रमण

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको व्यापक सहभागिता देखिएको छ ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित एक्स्पोको दोस्रो दिन बुधबारसम्म ५५ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् ।

पहिलो दिन मङ्गलबार २९ हजार र दोस्रो दिन २६ हजारभन्दा बढी अवलोकनकर्ताले मेलाको भ्रमण गरेका हुन् । साउन ३१ गतेसम्म चल्ने ६ दिने एक्स्पोभरि करिब डेढ लाख अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ ।

नयाँ मोडल सार्वजनिक र विशेष अफर

एक्स्पोको दोस्रो दिन विभिन्न ब्रान्डका चार वटा नयाँ मोडल सार्वजनिक गरिएका छन् । यसअघि उद्घाटनका दिन ४८ वटा नयाँ सवारीसाधन सार्वजनिक गरिएका थिए । मेलामा सहभागी कम्पनीहरूका अनुसार महँगा तथा सस्ता कार, मोटरसाइकल र विद्युतीय सवारीसाधन (EVs) मा ग्राहकको समान आकर्षण देखिएको छ । अवलोकनकर्ताहरूले विशेष गरी ब्याट्री क्षमता, मोटर पावर, माइलेज/रेन्ज र बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) सम्बन्धी जानकारीमा चासो देखाएका छन् ।

कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छुट, एक वर्षको सवारी कर, एक वर्षको बिमा, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएका छन् । वित्तीय संस्था तथा बिमा कम्पनीहरूले समेत सवारी खरिदका लागि विशेष अफर तथा सहुलियतपूर्ण कर्जा योजना प्रस्तुत गरेका छन् ।

नाइमा मोबिलिटी संवाद

एक्स्पोअन्तर्गत आयोजित ‘लर्निङ सेसन्स’ मा बुधबार 'मोबिलिटी : हिजो, आज र भोलि' विषयक अन्तर्क्रिया तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

पत्रकार टिकाराम यात्रीले सहजीकरण गर्नुभएको उक्त संवादमा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं यातायात इन्जिनियर अनुकूल निधि तथा नाडाका पूर्वअध्यक्ष ध्रुवबहादुर थापा प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्थ्यो । उक्त संवादमा ३०० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।

यसअघि पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा छलफल भएको थियो । एक्स्पोभरि स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा विभिन्न विषयमा संवाद निरन्तर चल्नेछ ।

प्रायोजक तथा साझेदारहरू

दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजित मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक रहेको छ भने रेडबुल 'पावर्ड बाई' साझेदारको रूपमा छ ।

बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन् । त्यसैगरी, प्रविधिमा बोस (BOSCH), चार्जिङमा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ, राइड पार्टनरमा पठाओ नेपाल, हस्पिटालिटीमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, भेइकल सेफ्टीमा एटीएस नेपाल र कनेक्टिभिटीमा वर्ल्डलिंक कम्युनिकेसन्स लगायतका संस्थाहरू सहयोगीका रूपमा आबद्ध छन् ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update