काठमाडौँ । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाले साहित्यकार तुलसी थापाको स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी भदौ ७ गते आयोजना हुने कविता प्रतियोगिताका लागि सहभागी हुन इच्छुक कविहरूलाई कविता पठाउन आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन कविता मौलिक तथा यसअघि कतै प्रकाशित वा प्रसारित नभएको हुनुपर्नेछ। सहभागीले अधिकतम १५० शब्दसम्मको एउटा मात्र कविता पठाउनुपर्ने शर्त तोकिएको छ ।
प्रतियोगितामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी तयार पारिएका कविता स्वीकार गरिने छैन। कविता पठाउँदा कविले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने गाउँपालिकाले जनाएको छ। कविता नेपाली युनिकोडको कोकिला वा कालिमाटी फन्टमा टाइप गरी इमेलमार्फत पठाउनुपर्नेछ।
प्रतियोगिताका लागि प्राप्त कवितामध्ये उत्कृष्ट १० वटा कविता छनोट गरी वाचनका लागि सहभागी गराइने र कविता वाचनका क्रममा कवि स्वयं उपस्थित हुनुपर्ने गाउँपालिकाले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। त्यस्तै दुई जनालाई १०/१० हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने सूचनामा उल्लेख छ। पुरस्कार रकम प्रचलित कानुनबमोजिम कर कट्टी गरी प्रदान गरिनेछ।
कविता २०८३ साल साउन मसान्तभित्र गाउँपालिकामा प्राप्त भइसक्नुपर्नेछ।



