पीडितको सम्पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले पीडितहरूको उद्धार, उपचार तथा पुनर्स्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिने घोषणा गरेका छन्।

आज बिहान आएको बाढीका कारण हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेको पुष्टि गर्दै प्रधानमन्त्रीले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

उद्धार र उपचार तीव्र, २५० भन्दा बढीको उद्धार

विपद् लगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी उद्धार र राहतका लागि महत्वपूर्ण निर्णयहरू गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीलाई तत्काल मैदानमा उतारिएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको सकुशल उद्धार गरिएको छ। घाइतेहरूको निःशुल्क र सहज उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या सुरक्षित राखिएको छ भने उपत्यकाका अन्य ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ। प्रभावित क्षेत्रमै विभिन्न सुरक्षा निकाय, विश्व स्वास्थ्य संगठन र नेपाल स्काउटका स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।

प्रभावित क्षेत्र र पुनर्निर्माणको योजना

बाढीबाट रसुवाका उत्तरगया र गोसाइँकुण्ड; नुवाकोटको विदुर; धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाका शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका छन्।

प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा आज रातभर पनि उद्धार कार्य जारी रहने स्पष्ट पारेका छन्। पीडितहरूका लागि खाद्यान्न, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्तै पुर्‍याइने र क्षतिग्रस्त सडक, पुल, बिजुली तथा खानेपानी संरचनाहरूको प्राथमिकताका साथ पुनर्निर्माण गरिने प्रतिबद्धता उनले जनाएका छन्।

प्रधानमन्त्रीले संकटको यस घडीमा धैर्य रहन आग्रह गर्दै सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी-व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई राहत तथा उद्धार अभियानमा हातेमालो गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update