ललितपुर । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि ललितपुरको गोदावरी नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख (पचास लाख रुपैयाँ) आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनद्वारा हस्ताक्षरित पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाउँदै उक्त सहयोग रकम हस्तान्तरण गर्ने जानकारी दिइएको हो।
नगरपालिकाका अनुसार गत भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको आकस्मिक एवं भीषण बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढीले निजी तथा सार्वजनिक सम्पत्ति, सडक, पुल, विद्युत्, सञ्चार तथा बजार क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउनु स्थानीय सरकारको पनि दायित्व भएको उल्लेख गर्दै नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्वाधार निर्माण शीर्षकको बजेटबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
गोदावरी नगरपालिकाले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धारको कामना समेत व्यक्त गरेको छ।




