Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु 

काठमाडौँ । जेनजी आन्दोलनका बेला पूर्णरुपमा ध्वस्त भएको गोदावरी नगरपालिका बाँडेगाउँमा अवस्थित प्रहरी प्रभाग बाँडेगाउँको भवन निर्माण सुरु भएको छ । 

गोदावरी नगरपालिकाको वडा नं.१४ मा अवस्थित उक्त प्रभागको भवन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आइतबार शिलान्यास गरे । 

शिलान्यास कार्यक्रममा बोल्दै उनले प्रहरी नागरिकको साथी भएको बताउँदै यो प्रहरी भवन बनाउन नागरिकको सक्रिय सहभागिता र भूमिका हुनेमा आफू निश्चिन्त भएको प्रष्ट पारे । 

‘प्रहरी नागरिकको सुरक्षाको लागि खटिनु हुन्छ, उहाँहरु यो भवनमा बसेर कार्य सम्पादन गर्नुहुन्छ, त्यसैले यो हाम्रो भवन हो, आफ्नै घर सम्झेर यसलाई बनाउँ,’ उनले भने ।

नागरिकमा प्रहरीप्रति गलत धारण भएको बताउँदै नागरिक र प्रहरीबीचको सम्बन्ध मजबुत बनाउनु पर्ने मेयर महर्जनले बताए ।

नगर प्रमुख महर्जनले यो प्रभागको भौतिक संरचना नहुँदा शान्ति सुरक्षामा प्रभाव पर्न सक्ने औल्याउँदै प्राथमिकतामा राखेर निर्माणलाई अघि बढाएको जिकिर गरे । 

२०२५ सालमा समुदायको सुरक्षाको लागि प्रहरी भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएका थिए । नगर प्रमुख महर्जनले यो प्रहरी भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनेलाई नगरपालिकाले सम्मान गर्ने बताए । यो प्रहरी प्रभागले नगरको वडा नं. १,२,३, ४ र १४ लाई प्रत्यक्ष रुपमा सुरक्षा प्रदान गर्छ । प्रभागको यो भवन निर्माणका लागि यी वडाहरुलाई विकास बजेटका अन्य शीर्षकबाट रकमान्तर गरी विनियोजन गरेका छन् । 

अन्य संघसंस्थाबाट पनि भवन निर्माणको लागि सहयोग प्राप्त भएको र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको वडा नं. १४का वडा अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । भवन निर्माणको लागि अर्थ, निर्माण, वार्ता, सल्लाहकार समिति गठन भएको बताउँदै तोकिएकै समय काम सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुई तल्लाको उक्त भवन  एक वर्षभित्र निर्माणसम्म गरिने योजना रहेको छ । 

ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले प्रहरीले नागरिकको नजिकको साथी भएको बताउँदै नागरिक र प्रहरी बीचको सम्बन्ध बलियो बनाउन सम्वाद आवश्यक भएको बताए । यो भवनको प्रयोग प्रहरीले गरेपनि नागरिककै सम्पत्ति भएको प्रष्ट पारे । ‘हाम्रो प्रहरी नेपाल प्रहरी’को भावलाई सबैले आत्मसाथ गर्नुपर्ने धारणा राखे । 

शिलान्यास कार्यक्रममा प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायव उपरीक्षक पूर्णिमा चन्दले प्रहरी नागरिकको साथी भएको बताउँदै यो भवन निर्माणका लागि सबैको सहयोग अपरिहार्य भएको बताइन् । 

‘शान्ति सुरक्षा कायम गर्नदेखि भवन निर्माणसम्म तपाईंहरुको सहयोग अति आवश्यक छ,’ उनले भनिन् ।

समयमै भवन निर्माण सम्पन्न गर्न स्थानीयको सहयोग अपरिहार्य भएको बताउँदै सहगोगको अपिल गरे । शिलान्यास कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सानुराज घिमिरे लगायत अन्य जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो । 

भवन शिलान्यास कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, आमासमूहका पदाधिकारी र प्रतिनिधि, सम्पूर्ण गुठीका प्रतिनिधि, सम्पूर्ण क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको छ  ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update