काठमाडौं । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी फेला परेको छ ।
अघिल्लो रात ललितपुरको ठेचोबाट चोरी भएको सो गाडी हिजो साँझ फेला परेको हो ।
नगरपालिकाका प्रवक्ता मिलन सिलवालले गाडी फेला परेको जानकारी दिए ।
‘हिजो साँझ गाडी फेला परेको छ । हरिसिद्धीमा इटाभट्टाभित्र राखिएको अवस्थामा गाडी फेला परेको हो । गाडी भेटिए पनि चाबी भने भेटिएको छैन,’ सिलवालले वडापालिकासँग भने ।
सो गाडी अर्काे चाबी प्रयोग गरेर नगरपालिकामा ल्याइसकिएको उनले जानकारी दिए । गाडीमा जिपिएस प्रणाली जडान नगरिएको पनि बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गरिरहेको स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको थियो । उजुरी परेपछि जिल्ला प्रहरी परिसर ललितपुरले खोजी गरेको थियो । उजुरी परेपछि प्रहरीले सो क्षेत्रको सिसिटिभी फुटेजको पनि अध्ययन गरेको थियो । । फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेको देखिएको थियो ।
नगरपालिकाका प्रवक्ता सिलवालले सवारी चालकको घरबाटै गाडी हराएको बताएका थिए ।
‘सवारी चालकले सधैभरी आफ्नै घरमा लगेर राख्ने गरेका थिए ।हराउने दिन पनि त्यसरी नै राखिएको रहेछ । तर, राति उनको कोठा फोडेर चावी लिएर गाडी चोरी गरिएको रहेछ । उनका (सवारी चालकका) केही सामान पनि चोहिएको भन्ने आएको छ,’ प्रवक्ता सिलवालले भनेका थिए ।
जेनजी आन्दोलनका क्रममा सो क्षेत्रका सिसिटिभीमा क्षति पुगेको र तारहरु जलेका कारण पनि समस्या भएको उनको भनाइ छ । यद्यपि, सवारी चालकको घरबाट निकालिएको गाडी अन्तिम पटक ललितपुरको झरुवारासीमा देखिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताएका थिए ।





