ललितपुरबाट हरायो गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी

काठमाडौं । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले चढ्ने स्कर्पियो गाडी चोरी भएको छ ।

सो गाडी गत रात  ठेचोबाट चोरी भएको हो । स्कर्पियो हराएपछि प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले स्कर्पियोको खोजी भइरहेको बताए ।

उजुरी परेपछि प्रहरीले सो क्षेत्रको सिसिटिभी फुटेजको पनि अध्ययन गरेको थियो । । फुटेजमा एक व्यक्तिले स्कर्पियो लगेको देखिएको प्रहरीले बताएको छ ।

स्कर्पियोका चालकसँग समेत प्रहरीले सोधपुछ गरेको छ । चालकले भने राति आफू सुतेको अवस्थामा चोरी भएकाले केही थाहा नभएको बताएका छन् ।

नगरपालिकाका प्रवक्ता मिलन सिलवालले सवारी चालकको घरबाटै गाडी हराएको बताए ।

‘सवारी चालकले सधैभरी आफ्नै घरमा लगेर राख्ने गरेका थिए । हिजो पनि त्यसरी नै राखिएको रहेछ । तर, राति उनको कोठा फोडेर चावी लिएर गाडी चोरी गरिएको रहेछ । उनका (सवारी चालकका) केही सामान पनि चोहिएको भन्ने आएको छ,’ प्रवक्ता सिलवालले वडापालिकासँग भने ।

उनले गाडी कहाँ पुर्याइयो भन्ने यकिन जानकारी अझै प्राप्त हुन नसकेको पनि बताए । जेनजी आन्दोलनका क्रममा सो क्षेत्रका सिसिटिभीमा क्षति पुगेको र तारहरु जलेका कारण पनि समस्या भएको उनको भनाइ छ । यद्यपि, सवारी चालकको घरबाट निकालिएको गाडी अन्तिम पटक ललितपुरको झरुवारासीमा देखिएको र प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update