काठमाडौँ । काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न प्रस्ताव गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले हाल सञ्चालनमा रहेको रात्रिकालीन बस सेवालाई विस्तार गर्दै ७ वटा बसबाट २८ वटा बस पुर्याउने प्रस्ताव गरेको हो।
रात्रिकालीन यातायात सेवालाई उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा दिगो र व्यवस्थित बनाउन अन्तरनगर यातायात सञ्जाल विकास गर्ने तयारी भइरहेको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बताएकी हुन् ।
महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन सेवाको प्रभाव तथा विस्तारसम्बन्धी अध्ययन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा सेवा विस्तारको तयारी अघि बढाइएको हो।
महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले रात्रिकालीन यातायातको तीन महिनाको परीक्षण अवधिको समीक्षा गर्दै सेवा विस्तारका लागि विभिन्न सुझाव दिएको छ।
तीन महिनामा ६६ हजारभन्दा बढी यात्रु
प्रतिवेदनअनुसार परीक्षणकालीन तीन महिनामा ६६ हजार ९५२ यात्रुले रात्रिकालीन बस सेवा प्रयोग गरेका छन्। एउटा बसले दैनिक औसत १४२ यात्रु बोक्ने गरेको पाइएको छ।
यात्रुबाट एउटा बसले दैनिक औसत ३ हजार १३४ रुपैयाँ आम्दानी गर्ने गरेको भए पनि सञ्चालन खर्च भने ४ हजार ८१४ रुपैयाँ रहेको छ। यस आधारमा एउटा बस सञ्चालन गर्दा दैनिक करिब १ हजार ६९० रुपैयाँ घाटा हुने गरेको प्रतिवेदनले देखाएको छ।
यात्रुको चाप हेर्दा राति ८ बजेदेखि ९ बजेसम्म सबैभन्दा बढी यात्रु हुने गरेको पाइएको छ। कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अन्य यात्रुका कारण उक्त समयमा चाप बढी देखिएको हो।
छोटो दूरीका यात्रु धेरै
रात्रिकालीन बसमा यात्रा गर्ने यात्रुमध्ये ४७ प्रतिशतले ५ किलोमिटरभित्रको छोटो दूरी यात्रा गर्ने गरेका छन्। त्यस्तै, ३२ प्रतिशतले मध्यम दूरी र २१ प्रतिशतले लामो दूरीको यात्रा गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ।
हाल छोटो दूरीको भाडा २० रुपैयाँ, मध्यम दूरीको २५ रुपैयाँ र लामो दूरीको ३० रुपैयाँ कायम गरिएको छ।
हाल नागढुङ्गा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा गरी ७ वटा विद्युतीय बस सञ्चालनमा छन्। यात्रुको माग र उपत्यकाका महत्वपूर्ण क्षेत्रलाई जोड्ने गरी अब सेवा विस्तार गर्न लागिएको हो।
नयाँ रुटले अस्पतालदेखि व्यापारिक केन्द्रसम्म जोड्ने
कार्यदलले रात्रिकालीन बस सेवा विस्तारका लागि थप रुट सञ्चालन गर्न सिफारिस गरेको छ। प्रस्तावित रुटले उपत्यकाका प्रमुख अस्पताल, व्यापारिक तथा व्यावसायिक केन्द्र र मुख्य नाकाहरूलाई जोड्ने लक्ष्य राखेको छ।
प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायुसेवासम्मका रुट रहेका छन्। सेवा विस्तारसँगै उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा सार्वजनिक यातायातको पहुँच बढ्ने अपेक्षा गरिएको छ।
आर्थिक दिगोपनका लागि तीन विकल्प
रात्रिकालीन यातायात सेवा विस्तार गर्दा आर्थिक भार बढ्ने भएकाले कार्यदलले सेवाको वित्तीय दिगोपनका लागि तीन विकल्प अघि सारेको छ।
पहिलो विकल्पका रूपमा रात्रिकालीन समयमा कर्मचारीको अतिरिक्त भत्ता, प्राविधिक तथा अन्य सञ्चालन खर्च बढ्ने भएकाले हाल कायम भाडामा १२ रुपैयाँ थप गरी ‘रात्रिकालीन प्रिमियम भाडा’ लागू गर्न सुझाव दिइएको छ।
दोस्रो विकल्पमा सेवा सञ्चालनबाट हुने कुल घाटाको ५० प्रतिशत रकम ८ वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको आकार, जनघनत्व तथा सञ्चालन दूरीका आधारमा बाँडफाँड गर्ने ‘भाइबिलिटी ग्याप फन्डिङ’ मोडल प्रस्ताव गरिएको छ।
तेस्रो विकल्पका रूपमा यात्रुले बसको वास्तविक अवस्थिति तथा समयतालिका हेर्न सक्ने प्रविधिको प्रयोग, सेवा सुधार र यात्रुको विश्वास बढाउने कार्यक्रममार्फत थप स्रोत जुटाउन सुझाव दिइएको छ।
महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षामा जोड
प्रतिवेदनले रात्रिकालीन सार्वजनिक यातायातमा महिला, ज्येष्ठ नागरिक तथा पर्यटकको सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ।
यसका लागि बसभित्र सीसीटीभी क्यामरा, जीपीएस ट्रयाकिङ प्रणाली तथा ‘डेडिकेटेड’ बस स्टप निर्माण गर्न सुझाव दिइएको छ। यस्ता व्यवस्थाले रातको समयमा सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुको सुरक्षा र सेवाप्रतिको विश्वास बढाउने अपेक्षा गरिएको छ।
८ नगरपालिकाको सहभागितामा सेवा विस्तार
रात्रिकालीन यातायातलाई उपत्यकास्तरीय प्रणालीका रूपमा विकास गर्न काठमाडौँ, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागिता सुनिश्चित गर्ने तयारी गरिएको छ।
स्थानीय तहबीचको सहकार्यमा सेवा विस्तार गर्न सके उपत्यकाको रात्रिकालीन अर्थतन्त्रलाई चलायमान बनाउन, रातको समयमा आवतजावत गर्ने नागरिकको सहजता बढाउन र निजी सवारीसाधनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने प्रतिवेदनको निष्कर्ष छ।
साथै, संघीय राजधानीको सार्वजनिक यातायातलाई व्यवस्थित, प्रभावकारी र जवाफदेही बनाउन ‘शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’मार्फत नियमन तथा सुशासन कायम गर्न सकिने सुझावसमेत प्रतिवेदनमा दिइएको छ।
महानगरपालिकाले २०८३ वैशाख १ गतेदेखि सुरु गरेको रात्रिकालीन बस सेवाको प्रारम्भिक तीन महिनाको अनुभवका आधारमा अब उपत्यकाका ८ स्थानीय तहलाई समेटेर सेवा विस्तार गर्ने तयारी गरेको हो।




