काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघले भोटेकोशी बाढी प्रभावित स्थानको स्थलगत अवलोकनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको नेतृत्वमा भोटेकोशी बाढीबाट अतिप्रभावित रसुवाका तीन गाउँपालिकाको स्थलगत अवलोकनपछि गाउँपालिका राष्ट्रिय महासंघ, नेपालले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।
भदौ २१ गते प्राधिकरणमा आयोजित क्लष्टर बैठकमा महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले स्थलगत अवलोकनमा देखिएका विषयहरुको सम्बोधन तत्काल गर्न सुझाव दिए ।
उनले स्थानीय सरकारको सेवा पुनःस्थापना पहिलो आवश्यकता रहेको औल्याए । उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकालाई कार्यालय सञ्चालनका लागि महासंघको तर्फबाट आइसिटी, फर्निचर, स्टेशनरी, स्वास्थ्य तथा अन्य आवश्यक सामग्री सहयोग गरिएको थियो ।
यस्तै महासंघले सडक तथा यातायात तत्काल सुचारु गर्ने विकल्प सोच्न पनि आग्रह गरेको छ । तादी–सूर्यगढी–नौकुण्ड–कालिका–धुन्चे सडक तत्काल मर्मत तथा स्तरोन्नति गरी यातायात नियमित गर्नुपर्ने महासंघको सुझाव छ ।
महासंघले बजार तथा आपूर्ति व्यवस्थापनमा पनि प्राधिकरणको ध्यानाकर्षण गराएको छ । खाद्यान्न, इन्धन, औषधिलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्दै कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने महासंघको भनाइ छ ।
कार्यकारी निर्देशक प्याकुरेलका अनुसार मृतक तथा बेपत्ता परिवारलाई राहत प्रदान गर्ने विषयमा पनि प्राधिकरणको ध्यानाकर्षण गराइएको छ । राहत, किरिया खर्च तथा सामाजिक सुरक्षा प्राप्त गर्न विशेष र सरल प्रक्रिया अपनाउनुपर्ने तथा आवश्यक अवस्थामा मृत्यु दर्ता/मृत्यु घोषणाको विशेष व्यवस्था गर्नुपर्ने महासंघको सुझाव छ ।
महासंघले जिल्लाबाहिरका परिवार पनि समेटिनुपर्ने सुझाव दिएको छ । घटनास्थल, स्थायी ठेगाना र हालको बसोबासलाई आधार बनाई कुनै पनि पीडित परिवार राहतबाट नछुट्ने व्यवस्था गर्नुपर्ने महासंघको भनाइ छ । यस्तै, विपद् व्यवस्थापन राहत वितरणमा मात्र सीमित हुनुहुँदैन भन्दै महासंघले स्थानीय सरकारको कार्यालय, सेवा, सडक, बजार र नागरिकको जीवनयापनलाई पुनःसामान्य अवस्थामा फर्काउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको प्राधिकरणलाई भनेको छ ।



