काठमाडौँ । बाढीबाट अति प्रभावित गाउँपालिकामा स्थानीय सरकारको सेवा अवरुद्ध हुन नदिन गाउँपालिका राष्ट्रिय महासंघले तत्काल अस्थायी कार्यालय सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
पूर्ववत् कार्यालय सञ्चालन गर्न नसक्ने अवस्था भए वडा कार्यालय, सामुदायिक भवन, विद्यालय वा सुरक्षित निजी भवनबाट सेवा सञ्चालन गर्न महासंघले आग्रह गरेको हो। नागरिकलाई सूचना उपलब्ध गराउने, राहत व्यवस्थापन गर्ने, गुनासा सुन्ने तथा आवश्यक समन्वय गर्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने महासंघको सुझाव छ।
महासंघले गाउँपालिका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई अस्थायी कार्यालय, विपद् व्यवस्थापन कोष, राहत सामग्री तथा आवश्यक उपकरण व्यवस्थापनबारे तत्काल निर्णय गर्न आग्रह गरेको छ। बैठक बस्न नसक्ने अवस्था भए उपलब्ध जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरी काम अघि बढाउन भनिएको छ।
त्यस्तै, विपद्का कारण बेपत्ता भएका जनप्रतिनिधि तथा कर्मचारीको विवरण अद्यावधिक गरी प्रदेश र संघीय सरकारलाई उपलब्ध गराउन तथा न्यूनतम आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारसँग अनुरोध गर्न महासंघले सुझाव दिएको छ।
उपलब्ध कर्मचारी, शिक्षक तथा अन्य जनशक्तिलाई परिचालन गरी प्रभावित नागरिकको अवस्था पहिचान, तथ्याङ्क अद्यावधिक, राहत आवश्यकता संकलन तथा वितरणको काम अघि बढाउनुपर्ने महासंघको भनाइ छ।
महासंघले बेपत्ता, विस्थापित, मृतक तथा घाइतेको एकीकृत अभिलेख तयार गरी नियमित अद्यावधिक गर्न पनि आग्रह गरेको छ।
स्थानीय तहको सेवा निरन्तरताका लागि संघ र प्रदेश सरकारले आवश्यक कर्मचारी, स्रोत–साधन तथा समन्वय तत्काल उपलब्ध गराउनुपर्ने महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।



