शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न गाउँपालिका महासंघको अनुरोध

 

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा साउन १० गते रातिदेखि भएको अशान्तिपूर्ण अवस्थाप्रति चिन्ता जाहेर गरेको छ ।

महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले आज एक विज्ञप्ति प्रकाशित गरी दुई पक्षीय द्वन्द्वका कारण सिर्जित अशान्तिपूर्ण अवस्था अझै सामान्य हुन नसकेको तथा आज सुनसरीको भोक्राहा नरसिंह, कोशी, हरिनगर गाउँपालिका लगायतका क्षेत्रमा समेत तनाव भैरहेको भन्ने समाचारप्रति चासो व्यक्त गर्दै सो घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

उनले घटनामा परी निधन भएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरेकी छन् भने घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

‘राजनीतिक, धार्मिक, जातीय, सांस्कृतिक, भौगोलिक वा अन्य कुनै पनि आधारमा समाजमा हिंसा र अशान्ति फैलिनु लोकतन्त्र, मानवअधिकार, सामाजिक न्या र सद्भाव तथा विकासका लागि दुःखद र अस्वीकार्य हो । यसले समुदायबीचको विश्वास र सामाजिक एकतामा नकारात्मक असर पार्दछ,’ अध्यक्ष पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले सम्पूर्ण नागरिक, स्थानीय समुदाय, धार्मिक तथा सामाजिक अगुवा, राजनीतिक दल, सञ्चारमाध्यम र सबै सरोकारवालाहरूलाई संयमता अपनाउन, अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन तथा संवाद र आपसी समझदारीमार्फत शान्ति र सद्भाव कायम गर्न हार्दिक अनुरोध गरेको छ ।

त्यसैगरी नेपाल सरकार, गृह प्रशासन तथा सुरक्षा निकायलाई प्रभावित क्षेत्रमा तत्काल शान्ति सुरक्षा कायम गर्न, नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, घटनाको सत्यतथ्य अनुसन्धान गर्न तथा कानुनी शासनको प्रत्याभुति दिन आग्रह गरिएको छ भने सम्बन्धित स्थानीय सरकारहरूलाई समन्वय, संवाद र सहजीकरणमार्फत सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक हो । विविधताबीचको एकता,

र सामाजिक सद्भाव नै हाम्रो लोकतान्त्रिक समाजको आधार हो । त्यसैले हिंसा, द्वेष र विभाजनलाई निरुत्साहित गर्दै शान्ति, सद्भाव, पारस्परिक सम्मान र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

महासंघले शान्ति, सद्भाव र सामाजिक एकताको संरक्षण नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update