पाठेघरको मुखको क्यान्सरसहित स्त्रीरोगको निःशुल्क परीक्षण गराउँदै कामपा– २७, सिभिल अस्पतालसँग सम्झौता

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिवार महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र स्त्री रोगको निःशुल्क स्वास्थ्य जाँच गराउने भएको छ । 

स्वास्थ्य जाँच शिविर आयोजना गर्न वडाले निजामती कर्मचारी अस्पतालसँग सम्झौता गरेको छ । महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको रोहवरमा वडाध्यक्ष योगेश खड्गी र अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडाको महत्वपूर्ण कार्यक्रम थालिएको छ । यसलाई बढाउँदै हामी क्यान्सरमुक्त महानगरको लक्ष्यमा पुग्नेछौँ,’ सम्झौतापछि कार्यवाहक मेयर डंगोलले भनिन्, ‘लक्षण नदेखिँदै रोगको सम्भावना पहिचान गर्न खोजिरहेका छौँ । हामीले यस अघि गरेका अभियानबाट पनि यो अवस्थामा पुग्ने सम्भावना देखिएको छ ।’

उनले विभिन्न अभियान र कार्यक्रममार्फत वडाबासीलाई रोग लाग्नु अगाडि नै सतर्कता अपनाउन प्रोत्साहित गरिरहेको बताइन् । 

‘खासगरी भित्री वडाका स्थानीयहरु रोग लाग्नुपूर्व जाँच गर्न जाने गर्नुहुन्न । यसकारण उहाँहरुलाई घरमै पुगेर सेवा लिन लागेका हौँ । कोही पनि वडाबासीले क्यान्सर लागेर धेरै पैसा खर्च गर्नु नपरोस् । पारिवारिक समस्या भोग्नु नपरोस् भन्ने हाम्रो चाहना हो,’ वडाध्यक्ष खड्गीले भने । 

उनले आँगनमै भएको शिविरबाट धेरै महिलाहरुले लाभ लिनेमा आफू आशावादी भएको पनि बताए ।

अस्पतालका कार्यकारी निर्देशक डा. परियारले वडाको यो तत्परता सराहनीय भएको बताए । यस्ता कार्यक्रमले विशेषज्ञ अस्पतालहरुमा विरामीको चाप कम हुने उनको भनाइ छ ।

‘परीक्षणका क्रममा कसैलाई खराबी देखियो भने उपचार गराउन सकियोस् । समस्या देखाएर मात्र हुँदैन । समाधान पनि दिनु पर्छ भन्नेमा सचेत भएर काम गर्नेछौँ,’ डा. परियारले भने ।

शिविरमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि अत्याधुनिक एचपीभी डीएनए परीक्षण गरिनेछ । यसका साथै स्तन क्यान्सर र अन्य स्त्री रोगहरूको पनि प्रारम्भिक जाँच गरिनेछ । 

प्रारम्भिक जाँचका क्रममा कुनै जटिल समस्या देखिएमा वा डाक्टरको सल्लाह बमोजिम थप परीक्षण आवश्यक परेमा वडाको सिफारिसमा निजामती कर्मचारी अस्पतालमा क्यान्सर हुनु पूर्वको परिवर्तन थाहा पाउने परीक्षण भीआइए र कोल्पोस्कोपी, बायोप्सी र तल्लो पेटको भिडियो एक्सरे ९एब्डोमिन युएसजी० तथा स्तनमा समस्या देखिए स्तनको अल्ट्रासाउण्ड र मेमोग्राम गराइनेछ । 

अस्पतालले परीक्षणको नतिजा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनेछ । रिपोर्टको आधारमा आवश्यक उपचारको परामर्श समेत दिनेछ । 

काठमाडौँ महानगरपालिकाले यस प्रकारका शारीरिक समस्यालाई जटिल हुन नदिन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । समय समस्या थाहा नपाउँदा रोग जटिल बन्दै गएको वर्तमान सन्दर्भमा यस्ता कार्यक्रमले जनस्तरमा प्रत्यक्ष लाभ दिने अपेक्षा गर्न सकिन्छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update