जनकपुरमा ‘९ दलीय अग्रगामी मोर्चा’को भेला, कसले के भने ?

जनकपुरधाम । जनकपुरमा ‘९ दलीय अग्रगामी मोर्चा’ले मधेश प्रदेशस्तरीय भेला तथा अभिमुखीकरण गरेको छ । भेलालाई मोर्चाका शीर्ष नेताहरू उपेन्द्र यादव, डा सीके राउत, जनार्दन शर्मा, प्रभु साहलगायतले सम्बोधन गरे ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश निर्माण भएपनि अब मधेश राज्य निर्माणका लागि संघर्ष गर्नुपर्ने बताए । उनले आफ्नै शासन–प्रशासन, कानुन र भाषाको अधिकार सुनिश्चित नभएसम्म मधेशी जनताले पूर्ण अधिकार प्राप्त गर्न नसक्ने जिकिर गरे । विगतदेखि नै मधेशी जनताको भाषा, संस्कृति, रहनसहन र पहिचानमाथि विभेद हुँदै आएको तथा मधेशी जनतामाथि चरम शोषण र दोहन गरिएको उनको आरोप थियो ।

वर्तमान सरकारले पनि मधेशी जनतालाई मतदाता र करदाताका रूपमा मात्रै हेरेको उनले आरोप लगाए । सीमाक्षेत्रमा विभिन्न किसिमका कर लगाएर जनतालाई थप बोझ दिएको उनको भनाइ थियो । अध्यक्ष यादवले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यसबाट जनताले धेरै आशा गर्न नहुने बताए ।

चुनावका बेला संघीयता बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेर वर्तमान प्रधानमन्त्रीले मधेशी जनताको मत लिएको बताउँदै उनले संविधान संशोधनको विषयमा वर्तमान सरकार पछि हटेको दाबी गरे । नेपालको विद्यमान निर्वाचन प्रणाली नै भ्रष्टाचारको प्रमुख कारणमध्ये एक रहेको उनको दाबी थियो । त्यसैले निर्वाचन प्रणाली परिवर्तन गरेर समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए । छठ पर्वपछि पनि मधेशी जनताले न्याय र अधिकार प्राप्त गर्न नसके अग्रगामी मोर्चाले थप सशक्त आन्दोलन तथा संघर्ष अघि बढाउने उनले घोषणा गरे ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले नेपाली जनताको बलिदानको जगमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न अग्रगामी मोर्चा निर्माण गरिएको बताए । उनले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेशी जनता नै राष्ट्रवादका वास्तविक पहरेदार भएको धारणा राखे । अधिकार माग्ने मधेशीलाई विदेशी देख्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले अधिकार प्राप्ति तथा प्राप्त उपलब्धिको संरक्षणका लागि अग्रगामी मोर्चा निर्माण भएको बताए । मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन यसमा आबद्ध नेताहरू इमानदारीपूर्वक अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

वर्तमान सरकारप्रति कटाक्ष गर्दै डा. राउतले नेपाली जनतालाई विदेश जानबाट रोक्ने तथा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको सरकारले दुई तिहाइको समर्थन पाएपछि झन् बढी नेपालीलाई विदेश पठाउने अवस्था सिर्जना गरेको आरोप लगाए । उनले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै आफूहरू नेतृत्व लिन तयार रहेको बताए ।

मधेशमा लामो समयदेखि संघर्ष गरेका नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले पनि मधेशी जनतालाई अधिकार दिन नसकेको अवस्थामा सेनाको बलमा बनेको सरकारबाट अधिकार प्राप्त हुने अपेक्षा गर्नु ‘दिवास्वप्न’ भएको उनको टिप्पणी थियो।

त्यस्तै, आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले राज्य सञ्चालन गर्ने नेतृत्वको बेइमानीका कारण अपेक्षित प्रतिफल प्राप्त गर्न नसकिएको जिकिर गरे । राज्यले विभिन्न समयमा सम्झौता गर्ने तर कार्यान्वयनको चरणमा बेइमानी गर्ने प्रवृत्तिका कारण जनता पीडित हुँदै आएको उनको भनाइ थियो।

कार्यक्रममा अग्रगामी मोर्चासँग आबद्ध दलका शीर्ष नेता, सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीबाट नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागिता थियो।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update