आमालाई ६ महिना र बाबुलाई ४२ दिन सुत्केरी विदा दिने सरकारको तयारी

 

काठमाडौँ । सरकारले नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन भन्दै सुत्केरी विदाको समय बढाउन लागेको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुत्केरी विदा बढाएर आमालाई ६ महिना र बाबुलाई ४२ दिन दिने कानुनी प्रबन्ध गर्न लागिएको जानकारी दिइन् । हाल आमालाई ९० दिन रबाबुलाई १५ दिन दिने व्यवस्था छ ।

मन्त्री गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ संशोधन विधेयक तयार भएको छ । अब मन्त्रिपरिषद् हुँदै संसद्‍मा लैजाने तयारीमा मन्त्रालय छ ।

उनका अनुसार विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ ।

मन्त्री गौतमले सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै यसको जानकारी दिएकी हुन् ।

‘जीवनमा एक वा दुई पटक आउने मातृत्व र पितृत्वको यो विशेष समयमा अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी पनि हो। यही सोचसहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भएको छ र अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारीमा छौँ,’ उनले लेखेकी छन् ।

मन्त्री गौतमका अनुसार आजको व्यस्त जीवनमा कामको चाप र बदलिँदो जीवनशैलीका कारण अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेका छन्।

‘विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा प्रस्ताव गरिएको छ। सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा यो महत्त्वपूर्ण नीतिगत परिवर्तन हो,’ उनले लेखेकी छन् ।

मन्त्री गौतमका अनुसार बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन।

 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update