विहान साढे ९ बजेसम्मको अपडेटः कुन–कुन राजमार्गको अवस्था कस्तो छ ?

काठमाडौं । सरकारले आज विहान साढे ९ बजेसम्मको राष्ट्रिय राजमार्गहरुको अवस्था सार्वजनिक गरेको छ ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सामाजिक संजाल फेसबुक मार्फत राजमार्गहरुको अवस्था सार्वजनिक गरेका हुन् ।

उनले दिएको जानकारी अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडकको नदीतर्फको ग्याबियन केही तल झरेको छ।

हाल सञ्चालनमा रहेको सडकको माथिल्लो भागको स्लोपमा भने कुनै समस्या देखिएको छैन। लगातार वर्षा भइरहेकाले स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ।

परियोजना टोलीले सडकको अवस्था निरन्तर निगरानी गरिरहेको छ।

यस्तै, कान्ति राजमार्गमा हालसम्म मुख्य समस्या देखिएको छैन। तर, स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ। 

अर्काे प्रमुख राजमार्ग त्रिभुवन राजपथ हो । त्रिभुवन राजपथमा कुनै समस्या देखिएको छैन र यातायात सुचारु छ।

राजधानी काठमाडौँ जोड्ने बीपी राजमार्गको भर्खरै काम सुरु भएको खण्डको डाइभर्सनमा केही समस्या आएको छ। अन्य स्थानमा हालसम्म कुनै समस्या देखिएको छैन। स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाएको छ।

समग्र सडक सञ्जालको निरन्तर निगरानी तथा अनुगमन भइरहेको मन्त्री लम्सालले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update