अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति

 

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ।

विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको हो।

वनविज्ञान संकायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा गठित समितिमा कृषि संकायका सह–डीन (प्रशासन), डा. कृष्णप्रसाद थापालिया, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका सह–डीन (प्रशासन) राजेन्द्र बस्याल र सह–प्रशासक सहदेव चौधरी सदस्य छन्। कर्मचारी प्रशासन महाशाखाका कामु उप–प्रशासक दिनेश अधिकारी सदस्य–सचिव छन्।

समितिले विश्वविद्यालय स्थापना भएदेखि वा अन्य विश्वविद्यालय तथा निकायबाट समायोजन भई विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवामा रहेका र अध्ययन बिदा लिएका शिक्षक तथा कर्मचारीको बिदा स्वीकृति, अध्ययनको अवस्था, बिदाको प्रयोजन तथा बिदा अवधिमा भएरगरेका गतिविधिबारे छानबिन गर्नेछ।

त्यसैगरी, अध्ययन बिदाको स्वीकृति प्रक्रिया, अध्ययनको प्रगति तथा बिदाको अवधिमा सम्बन्धित शिक्षक तथा कर्मचारीले गरेका गतिविधिलाई समेत छानबिनको आधार बनाइने विश्वविद्यालयले जनाएको छ।

समितिले तोकिएको कार्यादेशअनुसार अध्ययन बिदा दुरुपयोगसम्बन्धी विषयमा छानबिन गरी २०८३ साल पुस १३ गतेभित्र विश्वविद्यालयको रजिस्ट्रार कार्यालयमा विस्तृत प्रतिवेदन बुझाउनुपर्नेछ।

 

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update