काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीले रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीय किसानसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेकी छन् ।
भेटघाटका क्रममा किसानहरूले कृषि उत्पादन तथा बजारीकरण, सिँचाइ, मल–बीउको उपलब्धता, कृषि पूर्वाधार तथा स्थानीयस्तरमा भोग्दै आएका विभिन्न समस्याबारे मन्त्री चौधरीसमक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए।
मन्त्री चौधरीले असोज १५ गतेदेखि १८ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन् ।
किसानका समस्या र सुझावलाई प्रत्यक्ष रूपमा सुनेकी मन्त्री चौधरीले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको आयआर्जन र जीवनस्तर सुधार गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले किसानसँगको प्रत्यक्ष संवादबाट स्थानीयस्तरका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिने बताइन् ।
मन्त्री चौधरीको स्थलगत भेटघाटलाई किसानका समस्या प्रत्यक्ष रूपमा बुझ्ने तथा कृषि क्षेत्रका चुनौती समाधानका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने पहलका रूपमा लिइएको छ।


