काठमाडौं । आज दिउँसो तीन घन्टा धादिङस्थित पृथ्वी राजमार्ग बन्द हुने भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटार क्षेत्रमा सो समयमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी सूचना अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने छ ।
उक्त स्थानमा निर्माण कार्य सञ्चालन हुने भएकाले सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न तथा गराउन अनुरोध गर्नुका साथै सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।




