काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई तथा खाद्य पदार्थ बिक्रीवितरणको समावेश गर्नुपर्ने विवरण तोकेको छ ।
विभागले होटल, मिठाई पसल, भण्डारलगायत सबै मिठाई व्यवसायीहरूले आफूले उत्पादन तथा बिक्री गर्ने मिठाईमा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घ्यूको प्रकार, उपभोग गर्नुपर्ने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा खुलाउनुपर्ने मापदण्ड तोकेको हो ।
यस्तो विवरण ग्राहकले देख्ने गरी राख्नुपर्ने विभागको भनाइ छ । व्यवसायीहरूले आफ्ना उत्पादनसम्बन्धी सम्पूर्ण विवरणहरू ग्राहकहरूले प्रस्ट रूपमा देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा अनिवार्य रूपमा टाँस्नुपर्ने विभागको भनाइ छ । विभागले यसरी विवरण राख्ने ढाँचाको नमुना समेत सार्वजनिक गरेको छ, जसमा मिठाईको नाम, मुख्य सम्मिश्रण, तेल/घ्यूको प्रकार (नाम) र उपभोग गरिसक्नु पर्ने मिति उल्लेख गरिसक्नु पर्नेछ ।
विभागले दिएको जानकारी अनुसार यो नियम कात्तिक ११ गतेदेखि अनिवार्य रूपमा लागू हुनेछ। यदि कुनै व्यवसायीले तोकिएको मितिभित्र यी विवरणहरू सार्वजनिक नगरेमा वा अटेरी गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कारवाही हुने विभागको भनाइ छ ।
विभागले मातहतका कार्यालयमार्फत आफ्नो व्यवसायको खाद्य स्वच्छताको आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर मात्र व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेको छ ।



